नेट जीरो र जलवायु मिसनहरूको निगरानीका गि दुई डिजिटल प्लेटफर्महरू  शुरू गरियो
नेट जीरो पोर्टल


नयाँ दिल्ली, १६ सेप्टेम्बर (हि.स.)। विश्व ओजोन दिवसको अवसरमा बुधवार केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन राज्यमन्त्री कीर्तिवर्धन सिंहले नेट जीरो पोर्टल तथा राष्ट्रिय जलवायु परिवर्तन कार्ययोजना (एनएपीसीसी) ड्यासबोर्ड लाञ्च गरेका छन्। यी दुवै डिजिटल मञ्चको उद्देश्य स्वैच्छिक नेट जीरो प्रयासलाई प्रोत्साहन गर्नु तथा देशमा सञ्चालन भइरहेका जलवायु अभियानको प्रगति अनुगमनलाई थप प्रभावकारी बनाउनु रहेको छ।

नेट जीरो पोर्टलले विभिन्न क्षेत्रमा कार्यरत भारतीय संस्थालाई आफ्ना स्वैच्छिक नेट जीरो लक्ष्य दर्ता गर्न तथा त्यसको प्रगति सार्वजनिक गर्न साझा मञ्च उपलब्ध गराउनेछ। यसमा संस्थाहरूले हरितगृह ग्यास उत्सर्जन, नेट जीरो लक्ष्य तथा प्रत्येक वर्षको प्रगतिको विवरण राख्न सक्नेछन्। पोर्टलमा स्कोप–१ र स्कोप–२ उत्सर्जनको विवरण उपलब्ध गराउन प्रोत्साहित गरिएको छ भने स्कोप–३ उत्सर्जनको विवरण प्रस्तुत गर्नुलाई स्वैच्छिक राखिएको छ।

संस्थाहरूले नेट जीरो लक्ष्य हासिल गर्ने आफ्नो रणनीति पनि साझा गर्न सक्नेछन्। यस अन्तर्गत स्वच्छ ऊर्जा अपनाउने, ऊर्जा दक्षता बढ़ाउने, प्राविधिक उपाय अवलम्बन गर्ने तथा कार्बन हटाउने लगायतका गतिविधि समावेश छन्। नेट जीरो लक्ष्य घोषणा गर्ने योग्य संस्थालाई पर्यावरण मन्त्रालयका तर्फबाट त्यसको पुष्टि गर्ने स्वीकृति प्रदान गरिनेछ।

यसैगरी, ड्यासबोर्डले राष्ट्रिय जलवायु परिवर्तन कार्ययोजना अन्तर्गत सञ्चालन भइरहेका विभिन्न राष्ट्रिय अभियानको प्रगति एउटै डिजिटल मञ्चमा देखाउनेछ। यसबाट सम्बन्धित मन्त्रालय तथा विभागलाई योजनाको निगरानी गर्न, क्षेत्रगत प्रगतिको मूल्याङ्कन गर्न तथा कार्यान्वयनमा रहेका कमी–कमजोरी पहिचान गर्न सहयोग पुग्नेछ।

मन्त्रालय अनुसार, दुवै डिजिटल मञ्चले जलवायु कार्यमा पारदर्शिता, प्रभावकारी समन्वय तथा तथ्याङ्कमा आधारित निर्णय प्रक्रियालाई थप सुदृढ़ बनाउनेछन्। साथै, यी मञ्चले भारतका घरेलु जलवायु प्रयास तथा अन्तरराष्ट्रिय जलवायु प्रतिबद्धताबीच अझ् राम्रो समन्वय कायम गर्न पनि सहयोग पुर्याउनेछन्।

/ बिशाल


 rajesh pande