
गेजिङ, १६ सेप्टेम्बर (आईपीआर)। गेजिङमा आयोजित २२औँ ‘सी’ डिभिजन गेजिङ लिग फुटबल प्रतियोगिता आज क्योङ्सा फुटबल मैदानमा सम्पन्न भएको छ। प्रतियोगिताको फाइनलमा दराप एफसीलाई पराजित गर्दै तिक्जेक एफसी च्याम्पियन बनेको छ।
गेजिङ जिल्ला फुटबल सङ्घले गेजिङ जिल्ला खेलकुद तथा युवा मामिला विभागसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगिता गत २८ अगस्तदेखि शुरु भएको थियो। प्रतियोगितामा नौवटा फुटबल क्लबले सहभागिता जनाएका थिए।
समापन समारोहमा भवन तथा आवास र श्रम विभागका मन्त्री भीमहाङ लिम्बू मुख्य अतिथि तथा सिक्किम राज्य व्यापार निगमका सल्लाहकार डीआर लिम्बू विशेष अतिथिका रूपमा उपस्थित थिए।
समापनको अवसरमा अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता तथा १५ वर्षमुनिका बाल फुटबल प्रतियोगिताको फाइनल खेल पनि आयोजना गरिएको थियो। अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगितामा पीएम श्री सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालय, गेजिङले ग्याबास्थित सेन्ट मेरीज कन्भेन्ट स्कूललाई ४-० गोलले पराजित गर्दै उपाधि जित्यो।
यसैगरी, १५ वर्षमुनिका बालक फुटबल प्रतियोगितामा यङ ब्वाइज फुटबल एकेडेमीले सेन्ट मेरीज कन्भेन्ट स्कूलका बालक टोलीलाई २-० गोलले पराजित गर्दै च्याम्पियन बन्यो।
विद्यालय तथा उमेर समूहमा आयोजित यी प्रतियोगिताले युवा फुटबल खेलाडीलाई प्रतिस्पर्धात्मक खेलमार्फत खेल अनुभव हासिल गर्न तथा आफ्नो खेलकौशल विकास गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
समापन अवसरमा औपचारिक पुरस्कार वितरण समारोह आयोजना गरी विजेता टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल