
जलपाईगुड़ी, 17 सेप्टेम्बर (हि.स.)। फूलबाड़ीमा नाबालिक स्कूल छात्राको गलफन्दामा झुण्डिरहेको शव भेटिएको घटनाले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचायो। मृतकाको पहिचान फूलबाड़ी-2 नम्बर ग्राम पञ्चायतको श्रीराम कलोनी निवासी वर्षा सरकार (15)- को रूपमा भएको छ जो बाल्मीकि उच्च विद्यालयको नवौ कक्षाकी छात्रा थिई।
परिवार अनुसार सदा जस्तै बिहिवार बिहान पनि वर्षाले उठेर हात-मुख धोएपछि परिवारका सदस्यहरूसित बातचित गरी अनि चिया र बिस्कुट पनि खाई। त्यसपछि उ कोठाभित्र पसेर पढ़्न थाली। केही समयसम्म वर्षा कोठाबाट बाहिर नआएको कारणले परिवारका सदस्यहरूले कोठाभित्र गएर हेरे जहाँ उसको शव झुण्डिरहेको थियो।
घटनाको सूचना पाउनसाथ न्यू जलपाईगुड़ी थानाको पुलिस घटनास्थमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। घटना पछाड़िको वास्तविक कारण पत्तो लगाउनको लागि पुलिसले जाँच कार्य शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा