
पेलिङ, १७ सेप्टेम्बर (हि.स.)। धर्म विभागका मन्त्री सोनाम लामाले आज गेजिङ जिल्लाको पेलिङस्थित चेरेजी सिङ्खाम रिवो पोटाला पुगेर चौथो वार्षिक मणि दुङ्ड्रुप छेनमो २०२६ मा प्रार्थना तथा आशीर्वाद ग्रहण गरे।
मन्त्री लामाले पवित्र धार्मिक सभामा सहभागी हुँदै शान्ति, करुणा, सद्भाव तथा सम्पूर्ण प्राणीको कल्याणका लागि प्रार्थना गरे। प्रार्थना कार्यक्रममा मन्त्रीका ओएसडी, धर्म विभागका ओएसडी तथा विशेष सचिवसहित विभागका अधिकारी एवं कर्मचारीहरूको पनि उपस्थिति थियो।
धर्म विभागद्वारा आयोजना गरिने वार्षिक मणि दुङ्ड्रुप छेनमो सात दिनसम्म सञ्चालन हुने महत्वपूर्ण धार्मिक अनुष्ठान हो। यसमा विभिन्न गुम्बाका भिक्षु तथा श्रद्धालुहरू सहभागी भई करुणाका प्रतीक भगवान् चेरेजी अर्थात् अवलोकितेश्वरलाई समर्पित मणि मन्त्र तथा अन्य पवित्र प्रार्थनाको सामूहिक पाठ गर्छन्।
सिक्किमको समृद्ध धार्मिक तथा आध्यात्मिक सम्पदाको संरक्षण र प्रवर्धनलाई निरन्तर सहयोग गर्दै आएको धर्म विभागले यस विशाल प्रार्थना कार्यक्रम सञ्चालनका लागि प्रत्येक वर्ष पाँच लाख रुपियाँ अनुदान प्रदान गर्दै आएको धर्म विभागले विज्ञप्तिमा बताएको छ।
यसका साथै विभागीय सहयोगका अतिरिक्त मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा मन्त्री सोनाम लामाले पनि यस वर्षको विशाल प्रार्थना कार्यक्रम सञ्चालनका लागि व्यक्तिगत तर्फबाट आर्थिक सहयोग प्रदान गरेको बताइएको छ।
यस धार्मिक सभामा सिक्किमका विभिन्न क्षेत्रका साथै दार्जिलिङ र कालेबुङबाट समेत ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रह्यो। विभिन्न गुम्बाका भिक्षुहरूको सहभागिताले प्रार्थना कार्यक्रमको आध्यात्मिक महत्त्व तथा क्षेत्रीय सामुदायिक सद्भावलाई थप सुदृढ बनाएको जनाइएको छ।
१२ सेप्टेम्बरदेखि शुरु भएको चौथो वार्षिक मणि दुङ्ड्रुप छेनमो २०२६ १८ सेप्टेम्बरमा सम्पन्न हुनेछ। त्यसपछि १९ सेप्टेम्बरमा पेलिङस्थित चेरेजी सिङ्खाम रिवो पोतालामा ‘वाङ’ अर्थात् दीर्घायु अभिषेक कार्यक्रम आयोजना गरिनेछ।
हिन्दुस्थान समाचार / बिशाल