
सिलगढ़ी, 17 सेप्टेम्बर (हि.स.)। पछिल्लो लामो समयदेखिकै उठिरहेको मागलाई पूरा गर्दै फूलबाड़ी-घोषपुकुर बाइपास सड़कको पुनर्निर्माण कार्य बिहीवारदेखि शुरू गरियो। फूलबाड़ी टोल गेटदेखि इन्टेक वेलसम्मको सड़क निर्माण कार्यको राज्यका पर्यटन एवं संसदीय कार्य मन्त्री शङ्कर घोष अनि डाबग्राम- फूलबाड़ीकी भाजपा विधायक शिखा च्याटर्जीले गरे। कार्यक्रममा एसजेडीएका सीईओ बीर विक्रम राय, डीसीपी ट्राफिक काजी शमसुद्दीन अहमद समेत प्रशासनिक अधिकारीगण र स्थानीय नेताहरू उपस्थित थिए।
पर्यटन मन्त्री शङ्कर घोषले भने, फूलबाड़ी टोल गेटदेखि इन्टेक वेलसम्म लगभग 1.40 किलोमीटर सड़कको पुनर्निर्माण गरिनेछ। सड़कको चौड़ा 10.50 मीटर हुनेछ। पुरानो र जर्जर भइसकेको सड़कको माथिल्लो स्तरलाई हटाएर नयाँ शिराबाट बिटुमिनस सड़क बनाइनेछ। यस परियोजनामा लगभग 8 करोड़ रुपियाँ खर्च हुने अनुमान लगाइएको छ। दुर्गा पूजापूर्व सड़कलाई मोटरेबल अर्थात वाहनहरूको आवागमन योग्यको बनाउने लक्ष्य राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा