
नयाँ दिल्ली, १७ सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णनले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै स्वस्थ, सुखी र दीर्घायु जीवनको कामना गरेका छन्। दुवैले प्रधानमन्त्रीको नेतृत्वमा देशको विकास यात्रा तथा ‘विकसित भारत’ को लक्ष्यतर्फ भइरहेको प्रगतिबारे उल्लेख गरेका छन्।
राष्ट्रपति मुर्मूले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिँदै सार्वजनिक सेवामा उनको २५ वर्षको योगदानको उल्लेख गरेकी छन्। उनले गुजरातको मुख्यमन्त्रीदेखि देशको प्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हाल्दै मोदीले महत्वपूर्ण योगदान पुर्याएको बताएकी छन्।
राष्ट्रपति मुर्मूले प्रधानमन्त्री मोदीले सुशासनका नयाँ मापदण्ड स्थापित गर्दै समावेशी विकासलाई नयाँ गति र दिशा प्रदान गरेको बताएकी छन्। साथै, उनको नेतृत्वमा देशको सांस्कृतिक विरासत र आधुनिक विकासबीच सामञ्जस्य कायम गर्ने प्रयास रहेको पनि उल्लेख गरेकी छन्।
यसैगरी, उपराष्ट्रपति सीपी राधाकृष्णनले आफ्नो सन्देशमा प्रधानमन्त्री मोदीलाई जन्मदिनको हार्दिक शुभकामना दिँदै उनको दृढ तथा दूरदर्शी नेतृत्वमा भारत विश्वमा उज्ज्वल केन्द्रका रूपमा उदाउँदै गएको बताएका छन्। उनले भारत प्रमुख अर्थतन्त्रहरूमध्ये तीव्र गतिमा विकास भइरहेको देशमध्ये एक बनेको उल्लेख गरेका छन्।
उपराष्ट्रपतिले २५ करोडभन्दा बढी भारतीय अत्यन्त गरिबीको अवस्थाबाट बाहिर आएको, डिजिटल क्रान्तिले लाखौँ मानिसलाई सशक्त बनाएको तथा अन्तरिक्ष, प्रविधि, स्वास्थ्य सेवा, पूर्वाधार र उत्पादनलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन्।
उनले पछौटे जिल्लालाई ‘आकांक्षी जिल्ला’, सीमावर्ती गाउँलाई ‘जीवन्त तथा प्रथम गाउँ’ र उत्तरपूर्वलाई ‘अष्टलक्ष्मी’ का रूपमा सम्बोधन गर्नु प्रधानमन्त्री मोदीको दूरदर्शी सोचको प्रतिबिम्ब रहेको बताएका छन्। यसले भौगोलिक रूपमा पछाडि परेका क्षेत्रलाई सशक्त बनाउन तथा देशको विकास यात्रामा विभिन्न क्षेत्रका नागरिकको सक्रिय सहभागिता बढाउन सहयोग पुगेको उनले उल्लेख गरेका छन्।
राधाकृष्णनले पछिल्लो एक वर्षमा विभिन्न राज्य तथा केन्द्र शासित प्रदेशको भ्रमणका क्रममा यी परिवर्तनहरू देशका दुर्गम क्षेत्रसम्म पुगेको आफूले प्रत्यक्ष रूपमा देखेको बताएका छन्। देशभर देखिएको प्रगति, आकांक्षा र नयाँ उत्साहको भावनाले सामूहिक विकास यात्राप्रति नागरिकको विश्वास प्रतिबिम्बित गर्ने उनले बताएका छन्।
उपराष्ट्रपतिले प्रधानमन्त्री मोदीको सुस्वास्थ्य, सुख र निरन्तर शक्तिको कामना गर्दै सन् २०४७ सम्म विकसित भारतको लक्ष्य हासिल गर्न मातृभूमिको नेतृत्व निरन्तर गरिरहन सकून् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी