मराठा आरक्षण: मनोज जरांगेले भोक हडताल फिर्ता लिए, सरकारलाई तीन महिनाको समय
फोटो: मराठा आंदोलन नेता मनोज जरांगे


मुम्बई, १७ सेप्टेम्बर (हि.स.)। मराठा आरक्षण आन्दोलनका नेता मनोज जरांगे पाटिलले बिहीबार बिहान बीड जिल्लाको पाटोदामा राज्य सरकारबाट प्राप्त आश्वासनपछि २० दिनदेखि जारी आफ्नो भोक हडताल फिर्ता लिने निर्णय गरेका छन्।

यद्यपि, जरांगेले भोक हडताल मात्र स्थगित गरिएको र मराठा आरक्षणलाई लिएर आन्दोलन जारी रहने स्पष्ट पारेका छन्। उनले सरकारलाई चेताउनी दिँदै ९० दिन अर्थात् तीन महिनाभित्र आफ्ना माग पूरा नगरे अब सिधै मुम्बईको आजाद मैदानमा भोक हडताल गर्ने बताएका छन्।

मनोज जरांगेसँग भेट गर्न बिहीबार बिहान करिब ५ बजी महाराष्ट्र सरकारका मन्त्री राधाकृष्ण विखे पाटिल, दादा भुसे, विधायक सुरेश धस र प्रसाद लाड बीड जिल्लाको पाटोदा पुगेका थिए। राज्य सरकारको प्रतिनिधिमण्डलसँग करिब डेढ घण्टा छलफल गरेपछि जरांगेले मन्त्री विखे पाटिलको हातबाट जुस पिएर भोक हडताल अन्त्य गर्ने घोषणा गरेका हुन्।

बैठकपछि जरांगे पाटिलले सरकारलाई आफ्ना माग कार्यान्वयन गर्न ९० दिनको समय दिएका छन्। उनले यस अवधिमा सातारा राजपत्रलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन्। साथै, यस अवधिमा सरकारका तर्फबाट कुनै प्रकारको धम्की वा आन्दोलनविरुद्ध मानिने कुनै कारबाही गरिएमा आफूहरू पूर्ण शक्तिका साथ पुनः मुम्बई पुग्ने चेताउनी दिएका छन्।

उनले मुम्बईतर्फ अघि बढिसकेका मराठा प्रदर्शनकारीहरूलाई पनि आ-आफ्नो घर फर्किन अपील गरेका छन्। भोक हडताल अन्त्य गरेपछि उनी थप उपचारका लागि जालना जिल्लाको अन्तरवाली सराटीतर्फ प्रस्थान गरेका छन्।

मनोज जरांगेले मराठा आरक्षण तथा यससँग सम्बन्धित १५ वटा मागलाई लिएर जालना जिल्लाको अन्तरवाली सराटीमा २९ अगस्तदेखि अनिश्चितकालीन भोक हडताल शुरु गरेका थिए। आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन जरांगे १५ सेप्टेम्बरमा मुम्बईतर्फ प्रस्थान गरेका थिए। बुधबार बीड जिल्लाको पाटोदा पुगेपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। त्यसपछि त्यहीँ चिकित्सकहरूको टोलीले उनको उपचार गरेको थियो।

उपचारपछि जरांगेले मुम्बई जाने घोषणा गरेका थिए। बिहीबार बिहान राज्य सरकारको प्रतिनिधिमण्डलले जरांगेसँग भेटवार्ता गरेपछि उनले आन्दोलन स्थगित गर्ने घोषणा गरेका हुन्। यसअघि जरांगेले मुम्बईको आजाद मैदानमा आन्दोलन गर्न अनुमति मागेका थिए, तर पुलिसले अनुमति अस्वीकार गरेको थियो। त्यसका बावजुद पनि जरांगे मुम्बईतर्फ अघि बढिरहेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande