
दक्षिण 24 परगना, 17 सेप्टेम्बर (हि. स.)। जिल्लामा रायदिघीको नन्दकुमारपुर पञ्चायत अन्तर्गत मोहब्बत नगर, कैलासपुर र हरिणटाना बजारको छेउमा नाकचोड़ा नदीमा अवस्थित माटोको बाँध गए बुधवार साँझ लगभग चार बजी अचानक भत्किएको कारणले क्षेत्रमा कोकोहोलो मचियो। नदीको पानी गाउँभित्र पस्न अगावै प्रशासनले सक्रिय भएर तत्काल बाँधको मरम्मत कार्य शुरू गरायो।
स्थानीय सूत्र अनुसार पानीको तीव्र धारले बिजुलीका दुई वटा खाँबो पनि भत्कियो जसले गर्दा सम्पूर्ण क्षेत्र अँध्यारोमा डुब्यो। घटनाको सूचना पाएर मथुरापुर-2 ब्लक प्रशासन अनि सिचाइ विभागका अधिकारी अनि क्रमचारीहरू घटनास्थलमा पुगे। गए बुधवार साँझदेखिनै आपतकालीन आधारमा जेसीबीको सहयोगले माटो लगाएर बाँधको मरम्मत कार्य शुरू गरियो। बिहीवार बिहानसम्ममा मरम्मतको अधिकांश काम पूरा गरिसकिएको छ। प्रशासनानुसार पानी रसिने ठाउँमा पनि मरम्मत गरिएको छ। भत्किएका बिजुलीका खाँबोहरूलाई मरम्मत गर्न शुरू गरिएको छ।
प्रशासनको तत्काल कारबाहीको फलस्वरूप स्थानीय मानिसहरूले राहत महसूस गरेका छन्। तथापि ग्रामीणहरूको भनाइ छ, लगभग 6-7 वर्षअघि यस क्षेत्रमा 500-700 फुटसम्मको बाँधलाई पानीले काट्दै लगेपछि ‘आइला बाँध’ निर्माण गरिएको थियो भने यसपालि फेरि लगभग 200 फुटमा चिरा परेको कारणले ग्रामीणहरूमा भय व्याप्त भएको थियो।
स्थानीय मानिसहरूको भनाइ छ, हाल प्रशासनले जेसीबीबाट माटो लगाएर बाँधलाई मजबुत बनाउने प्रयास गरिरहेको भए पनि भविष्यमा यदि स्थायी तथा मजबुत कङ्क्रिटको बाँध बनाइएन भने नाकचोड़ा नदीको कटाउले गम्भीर रूप लिनसक्छ। त्यसैले ग्रामीणहरूले स्थायी समाधानको माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा