
गान्तोक, १७ सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीको ७६औँ जन्मदिनको अवसरमा सिक्किम सरकार तथा राज्यवासीका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत जारी गरेको आफ्नो सन्देशमा प्रधानमन्त्री मोदीको अमूल्य मार्गदर्शन, सहयोग र संरक्षण सिक्किमका लागि आशा तथा आत्मविश्वासको महत्वपूर्ण स्रोत रहेको बताएका छन्।
सिक्किमको राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहको समापन कार्यक्रममा प्रधानमन्त्री मोदीको गरिमामय उपस्थितिको स्मरण गर्दै मुख्यमन्त्री तामाङले सिक्किमको प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा, पर्यटनको सम्भावना तथा विभिन्न क्षेत्रमा राज्यले हासिल गरेका उपलब्धिप्रति प्रधानमन्त्रीले व्यक्त गरेको प्रशंसाले सिक्किमवासीलाई ठूलो प्रोत्साहन र गौरव प्रदान गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री मोदीको सिक्किम तथा उत्तरपूर्वप्रतिको विशेष स्नेह र निरन्तर मार्गदर्शन तथा सहयोगलाई राज्यवासीले गहिरो रूपमा सम्मान गर्ने बताउँदै मुख्यमन्त्री तामाङले उत्तरपूर्वको विकास र समृद्धिप्रति प्रधानमन्त्रीको निरन्तर प्रतिबद्धताप्रति आभार व्यक्त गरेका छन्।
उनले प्रधानमन्त्रीको ‘विकसित भारत @२०४७’ को प्रेरणादायी दृष्टिकोणको पनि उल्लेख गर्दै भारतको बढ्दो विश्वव्यापी प्रभावमा सफलतापूर्वक सम्पन्न भएको ब्रिक्स शिखर सम्मेलनले महत्वपूर्ण उपलब्धि थपेको बताएका छन्।
मुख्यमन्त्री तामाङले जन्मदिनको यस विशेष अवसरमा प्रधानमन्त्री मोदीको सुस्वास्थ्य, दीर्घायु, सुख, शक्ति तथा राष्ट्रसेवाका लागि असीम ऊर्जा प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गरेका छन्।
उनले आगामी वर्षहरूमा भारतको ‘विकसित भारत’ यात्राले थप महत्वपूर्ण उपलब्धि हासिल गरोस् तथा सिक्किमसहित सम्पूर्ण उत्तरपूर्व शान्ति, समृद्धि र विकासको दिशामा अघि बढिरहोस् भन्ने कामना गरेका छन्। साथै, प्रधानमन्त्रीको अमूल्य मार्गदर्शन, स्नेह र आशीर्वाद सधैँ प्राप्त भइरहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल