
गान्तोक, १७ सेप्टेम्बर (हि.स.)। बुधबार र बिहीबारको मध्यरातमा परेको भारी वर्षाका कारण सिक्किमका विभिन्न स्थानमा पैह्रो गएको जानकारी प्राप्त भएको छ। हालसम्म कुनै मानवीय क्षतिको सूचना प्राप्त भएको छैन। यद्यपि, केही स्थानमा घर, सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेको जानकारी आएको छ।
बुधबार राति राज्यका लगभग सबै भागमा भारी वर्षा भएको थियो। वर्षाका कारण विभिन्न स्थानमा पैह्रो जाँदा पूर्वाधारहरूमा सामान्य क्षति पुगेको जानकारी प्राप्त भएको छ।
राजधानी गान्तोकमा सिक्किम उच्च न्यायालयतर्फ जाने सम्पर्क सडक पैह्रोका कारण अवरुद्ध भएको छ। यसले सवारीसाधन तथा पैदलयात्रीको आवागमन प्रभावित भएको छ। पैह्रोका कारण पानीका पाइपलाइनमा समेत क्षति पुगेको छ, जसका कारण पानीको आपूर्ति प्रभावित हुन सक्ने आशंका गरिएको छ।
प्रशासनले सडकमा थुप्रिएको मलबा हटाउन आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी आवागमन सुचारु गर्ने कार्य थालेको छ। यसैगरी, डीपीएच क्षेत्रअन्तर्गत पर्ने बारबोटे गाउँमा पनि सामान्य पैह्रो गएको छ। पैह्रोका कारण एउटा सरकारी आवासमा सामान्य क्षति पुगेपछि। त्यहाँ बसोबास गर्ने मानिसहरू सावधानीस्वरूप मध्यरातमा सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका थिए। अवस्था थप गम्भीर हुन नदिन सम्बन्धित विभागले आवश्यक काम शुरु गरेको छ।
यसैबीच, राज्यका अन्य विभिन्न भागबाट पनि पैह्रो तथा त्यसबाट भएको क्षतिका विवरणहरू प्राप्त भइरहेका छन्। प्रशासन तथा सम्बन्धित विभागहरूले अवस्थाको निरन्तर निगरानी गर्दै आवश्यक पुनःस्थापना तथा मर्मतसम्भारको काम अघि बढाइरहेका छन्।
समाचार तयार पार्दासम्म राज्यका कुनै पनि भागबाट मानवीय क्षतिको सूचना प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार / बिशाल