विश्वकर्मा पूजाको अवसरमा सिक्किममा स्वच्छता ही सेवा अभियान २०२६ शुभारम्भ
स्वच्छता ही सेवा अभियान २०२६ काे शुभारम्भ


स्वच्छता ही सेवा अभियान २०२६ काे शुभारम्भ


गान्तोक, १७ सेप्टेम्बर (हि.स.)। विश्वकर्मा पूजाको पावन अवसरमा सिक्किममा ‘स्वच्छता ही सेवा अभियान २०२६’ को शुभारम्भ गरिएको छ। राजधानीको रिज पार्कमा बिहिवार बिहान आयोजित एक कार्यक्रममा अभियान शुभारम्भ गरियो। यस अवसरमा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि उपस्थित थिए।

मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत विश्वकर्मा पूजाको पावन अवसरमा राज्यपाल ओमप्रकाश माथुरको उपस्थितिमा ‘स्वच्छता ही सेवा अभियान २०२६’ कार्यक्रममा सहभागी बनेको जानकारी गराएका छन्।

उनले कार्यक्रममा स्वच्छता शपथ ग्रहण, शहरी विकास विभागद्वारा ‘क्लिन हिल हिमालयन सिटिज इनिसिएटिभ’ को प्रतीक चिह्न सार्वजनिक, ‘स्वच्छ शहर अभियान’ अन्तर्गत स्वयं सहायता समूहहरूलाई चेक वितरण तथा ग्रामीण विकास विभागद्वारा मोबाइल उपचार एकाइ सञ्चालनसम्बन्धी मानक कार्यसञ्चालन प्रक्रिया सार्वजनिक गरिएको बताएका छन्।

मुख्यमन्त्रीले कार्यक्रमका क्रममा सोरेङ प्राथमिक स्वास्थ्य केन्द्र र केजीबी विद्यालयका लागि दुईवटा एम्बुलेन्ससहित १७ वटा सरसफाई तथा फोहोर प्रबन्धनसम्बन्धी सवारीसाधनलाई झन्डा देखाएर प्रस्थान गरिएको पनि जानकारी गराएका छन्।

मुख्यमन्त्रीका अनुसार, प्रस्थान गरिएका सवारीसाधनमध्ये गान्तोक, नाम्ची, गेजिङ र मङ्गनका लागि चारवटा मोबाइल उपचार एकाइ, गान्तोक र पाकिमका लागि दुईवटा सेसपुल सवारीसाधन तथा विभिन्न ग्राम पञ्चायत एकाइहरूका लागि १० वटा रिसोर्स रिकभरी वेहिकल रहेका छन्।

मुख्यमन्त्री तामाङले यी पहलहरूले सिक्किमभर स्वच्छ, स्वस्थ र दिगो समुदाय निर्माणप्रतिको सामूहिक प्रतिबद्धतालाई थप बलियो बनाउने बताएका छन्। उनले स्वच्छतालाई केवल अभियानका रूपमा सीमित नराखी जीवनशैलीकै रूपमा विकास गर्न ‘टीम सिक्किम’ का रूपमा सबै मिलेर निरन्तर काम गर्न आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande