भारत भ्रमणको दोस्रो दिन नेपाली वित्तमन्त्री वाग्लेको विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
भारत भ्रमण में रहे नेपाल के वित्त मंत्री


काठमाडौँ, १८ सेप्टेम्बर (हि.स.)। भारतको तीनदिने भ्रमणमा रहेका नेपालका वित्तमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न महत्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटवार्तामा सहभागी हुने भएका छन्। यसअघि बिहीबार भारत पुगेका वित्तमन्त्री वाग्लेले सोही साँझ आफ्नी भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरे।

भ्रमणको दोस्रो दिन शुक्रबार बिहान वित्तमन्त्री वाग्ले पूर्व भारतीय विदेश सचिव श्यामशरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना विचारहरू राख्नेछन्।

शुक्रबार साँझ ५ बजी वित्तमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ताका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

वित्तमन्त्री वाग्ले भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने विस्तृत बैठकमा पनि सहभागी हुनेछन्। भारत मण्डपममा आयोजना हुने उक्त कार्यक्रममा नेपाल-भारत आर्थिक सहकार्यका विभिन्न पक्षमा उच्चस्तरीय छलफल हुनेछ।

वित्तमन्त्री वाग्लेको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा वित्त मन्त्रालयका सहसचिव अमृत लम्साल, विदेश मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयॉं दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र वित्तमन्त्री निजी उपसचिव कञ्चन बस्नेत सामेल छन्।

भ्रमणको तेस्रो तथा अन्तिम दिन शनिबार वित्तमन्त्री वाग्ले निजी क्षेत्रका प्रतिनिधिसहित अन्य उच्चस्तरीय भेटवार्तामा सहभागी हुनेछन्। त्यसपछि नेपाली प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande