
काठमाडौं, १७ सेप्टेम्बर (हि.स.)। नेपालका रसुवा जिल्लामा २६ अगस्तमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गतका १९१ वटा सवारीसाधन क्षतिग्रस्त भएका छन्। बाढीमा ती सवारीसाधनका चालक, सहचालक तथा यात्रुसहित ३४४ जना बेपत्ता भएका छन्।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार, बाढीबाट देशभरका नौवटा यातायात कम्पनीका सवारीसाधन प्रभावित भएका छन्। नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एउटा मिनीट्रक, दुई जिप र चार कन्टेनर बाढीमा बगेका छन् भने ५० जना मजदुर बेपत्ता छन्।
त्यसैगरी, पासाङ ल्हामु यातायात प्रालि, बालाजुका १९ बस बगेका छन् भने २१ जना बेपत्ता छन्। भक्तपुर न्यु भिजन यातायात प्रालिका दुई कन्टेनर पैह्रोको माटोमा पुरिँदा दुई चालक बेपत्ता भएका छन्।
हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एउटा सुमो बाढीमा बगेका छन् भने १० जना चालक बेपत्ता छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एउटा ट्रेलर बाढीमा पुरिएका छन्। सो घटनामा ४५ चालक बेपत्ता भएका छन्।
नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका ५९ ट्रक तथा कन्टेनर बाढीमा बगेका छन् भने ७० जना बेपत्ता छन्। नेपाल माइक्रो कम्पनीका नौवटा माइक्रोबस पनि बाढीको चपेटामा परेका छन्।
त्यसैगरी, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एउटा बस क्षतिग्रस्त हुँदा एक चालक र २२ यात्रु बेपत्ता छन्। धादिङ यातायात प्रालिको एउटा बस बगाउँदा त्यसमा सवार एक चालक र २५ तीर्थयात्री बेपत्ता रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल