नेपालको बाढीमा १०२ बालबालिकाले गुमाए माता-पिता, १७ हजार बालबालिकालाई संरक्षण आवश्यक
बाढ़ प्रभावित बच्चों की पढ़ाई शुरू की गई


काठमाडौँ, १८ सेप्टेम्बर (हि.स.)। नेपालमा आएको विनाशकारी बाढीपछि बालबालिकामाथिको संकट थप गहिरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्को द्रुत मूल्याङ्कन प्रतिवेदनअनुसार, बाढीमा १०२ बालबालिकाका दुवै अभिभावक बेपत्ता भएका छन्। यसमा ४९ बालिका र ५३ बालक रहेका छन्।

प्रतिवेदनअनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै कम्तीमा १७ हजार बालबालिकालाई संरक्षण आवश्यक देखिएको छ। बाढीका कारण ठूलो संख्यामा बालबालिकाको अध्ययन प्रभावित भएको छ। परिवारबाट अलग भएका तथा अभिभावकीय हेरचाहबाट वञ्चित बालबालिकामाथि जोखिमसमेत बढेको प्रतिवेदनमा उल्लेख छ।

अध्ययनअनुसार, ४३९ बालबालिका आफ्ना अभिभावकबाट अलग भएका छन्। तीमध्ये २२२ बालिका र २१७ बालक छन्। ६९२ प्रभावित बालबालिका आफ्ना अभिभावक वा अन्य संरक्षकसँगै रहेका छन्। यस समूहमा ३६१ बालिका र ३३१ बालक छन्। प्रभावित बालबालिकामध्ये २१ जना दिव्याङ्ग बालबालिका पनि रहेका छन्।

बाढीबाट प्रभावित ३२ विद्यालयमध्ये १९ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती विद्यालयमा करिब ९ हजार ४०० विद्यार्थी भर्ना भएका थिए, जसमध्ये ३ हजार ९२८ विद्यार्थी प्रभावित भएका छन्। प्रतिवेदनअनुसार, ४८८ विद्यार्थी अझै बेपत्ता छन् भने पाँच विद्यार्थीको मृत्यु भएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्ले यस अवस्थालाई तत्काल राहतको विषयमा मात्र सीमित नराखी बाल अधिकार, संरक्षण, शिक्षा, स्वास्थ्य, पोषण, पारिवारिक हेरचाह, सामाजिक सुरक्षा तथा दीर्घकालीन विकाससँग जोडिएको बहुआयामिक मानवीय संकटका रूपमा व्याख्या गरेको छ। प्रतिवेदनमा प्रभावित बालबालिकाको पहिचान, परिवारको खोजी तथा पुनर्मिलन, सुरक्षित अस्थायी आश्रय, शिक्षा निरन्तरता, स्वास्थ्य तथा पोषण र मनोसामाजिक सहयोगलाई तत्काल प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

परिषद्को टोलीले १ देखि ५ सेप्टेम्बरसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनका प्रभावित क्षेत्र, अस्थायी आश्रयस्थल तथा संरक्षण केन्द्रहरूको अध्ययन गरेको थियो। सेप्टेम्बर ५ सम्म बाढी प्रभावित जिल्लाका संरक्षण केन्द्रमा १ हजार २३३ बालबालिका रहेका थिए। तीमध्ये ६३२ बालिका र ६०१ बालक थिए।

प्रभावित बालबालिकाको व्यवस्थापनका लागि स्थानीय तहमा बाल अधिकार समितिमार्फत प्रक्रिया अघि बढाइएको छ। अभिभावक बेपत्ता भएको अवस्थामा शुरुमा परिवारका अन्य सदस्य वा आफन्तसँग बालबालिकालाई राख्ने प्रयास गरिनेछ। त्यसो गर्न सम्भव नभए कानुनी प्रक्रियाअनुसार परिवारमा आधारित हेरचाह वा बालगृहको व्यवस्था गरिने जनाइएको छ।

ललितपुरको गोदावरीमा प्रभावित बालबालिकाका लागि अस्थायी संरक्षण केन्द्रसमेत तयार गरिएको छ। करिब ५० बालबालिकालाई राख्न सकिने क्षमताको उक्त केन्द्रमा उपचार, मनोसामाजिक परामर्श तथा शिक्षाको व्यवस्था गरिएको छ।

यसैबीच, काठमाडौँको डल्लुस्थित गीतामाता माध्यमिक विद्यालयमा भोटेकोशी बाढीबाट प्रभावित ७० बालबालिकाको पढाइ पुनः सुरु गरिएको छ। उनीहरूलाई अध्ययनसँगै मनोसामाजिक परामर्श, स्वास्थ्य परीक्षण तथा खेलकुदको सुविधा पनि उपलब्ध गराइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande