
काठमाडौं, 02 सेप्टेम्बर (हि.स.)। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन भारतले पठाएको राहत सहायता सामग्रीको पाँचौँ खेप काठमाडौं आइपुगेको छ।
काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भारतले पठाएको राहत सामग्री भारतीय दूतावासका प्रतिनिधिले नेपाल सरकारका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बुधबार बिहान भारतबाट सहायता सामग्रीको पाँचौँ खेप विमानमार्फत नेपालका लागि पठाइएको जानकारी दिए।
उनका अनुसार, विमानमा विशेष खोज तथा उद्धार उपकरणले सुसज्जित ११ सदस्यीय उद्धार टोली तथा ५.५ टन आवश्यक औषधि पठाइएको छ। उक्त टोलीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानमा सहयोग गर्नेछ।
यसअघि दुई दिनअघि मात्र भारतले बाढी प्रभावित मानिसहरूका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहित चौथो विमान नेपाल पठाएको थियो। नेपालमा अहिले उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी छ। भारतसहित विभिन्न देश तथा अन्तरष्ट्रिय संस्थाहरूले पनि बाढी प्रभावित क्षेत्रका लागि सहायता उपलब्ध गराइरहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल