नेपालमा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक, ७,५७० निजी घर ध्वस्त, सडक पूर्वाधारमा ३० अरब रुपियाँको क्षति
नेपाल के कास्की जिले में आई भीषण बाढ़


काठमाडौं, 02 सेप्टेम्बर (हि.स.)। नेपालका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पाँच जिल्लामा ७,५७० निजी घर क्षतिग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ। शहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठूलो संख्यामा निजी घर बाढीको चपेटामा परेका छन्।

विभागका अनुसार १,२५३ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ६,३१७ घरमा ठूलो क्षति पुगेको छ। तीमध्ये अधिकांश घर तत्काल मर्मत गरेर बस्न योग्य बनाउन नसकिने अवस्थामा रहेकाले पुनर्निर्माण गर्नुपर्ने देखिएको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, पाँच जिल्लामा ७,५७० निजी घर क्षतिग्रस्त भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। विभागको टोलीले प्रभावित क्षेत्रमा पुगेर क्षतिको मूल्यांकन गरेको हो। निजी घरमा मात्रै करिब १७ अरब ३१ करोड नेपाली रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

बाढीका कारण सरकारी निकायका ४५ भवन पनि क्षतिग्रस्त भएका छन्। ती भवनमा करिब साढे ४ अरब नेपाली रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

विभागका महानिर्देशक रविन्द्र बोहराका अनुसार, रसुवामा कुल १,७७९ घर क्षतिग्रस्त भएका छन् र करिब ५ अरब ७ करोड ९८ लाख रुपियाँको क्षति भएको छ। रसुवाको गोसाइँकुण्डमा १,०४३ घर क्षतिग्रस्त भएका छन्, जसबाट २ अरब ४९ करोड ८६ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान छ। कालिकामा ११२ घर ध्वस्त हुँदा १८ करोड ४८ लाख रुपियाँ, आमाछोदिङ्मोमा ५७ घरमा ९ करोड ४० लाख रुपियाँ र उत्तरगयामा ५६७ घर ध्वस्त हुँदा २ अर्ब ३० करोड २३ लाख रुपियाँ बराबरको क्षति भएको जानकारी दिइएको छ।

नुवाकोटमा ३,९७७ घर क्षतिग्रस्त भएका छन् र कुल क्षति ९ अरब २२ करोड ६२ लाख रुपियाँ आकलन गरिएको छ। यस जिल्लाको बेलकोटगढीमा २१२ घर ध्वस्त हुँदा ६० करोड रुपियाँ, विदुर नगरपालिकामा ३,०२६ घर क्षतिग्रस्त हुँदा ७ अरब १७ करोड ५८ लाख रुपियाँ तथा किस्पाङमा ६९६ घर बाढीले बगाउँदा १ अरब ३० करोड २४ लाख रुपियाँ बराबरको क्षति भएको छ। तारकेश्वर नगरपालिकामा ४३ घर क्षतिग्रस्त हुँदा १४ करोड ७९ लाख रुपियाँको क्षति भएको बताइएको छ।

धादिङमा कुल १,४५१ घर क्षतिग्रस्त भएका छन्। यहाँ करिब २ अरब ४० करोड ९५ लाख रुपियाँ बराबरको क्षति भएको छ। बेनीघाट रोराङमा १,०३७ घर क्षतिग्रस्त हुँदा १ अरब ७२ करोड ६४ लाख रुपियाँ, गजुरीमा १०७ घरमा १७ करोड ६५ लाख रुपियाँ, गल्छीमा ७९ घरमा १३ करोड ३ लाख रुपियाँ र सिद्धलेकमा २२८ घरमा ३७ करोड ६२ लाख रुपियाँ बराबरको क्षति भएको छ।

गोरखामा २६३ घर क्षतिग्रस्त भएका छन् र ४३ करोड ३९ लाख रुपियाँ बराबरको क्षति भएको छ। यसमा गण्डकी क्षेत्रमा २४८ र शहीद लखनमा १५ घर रहेका छन्। चितवनको इच्छाकामनामा १०० घर क्षतिग्रस्त हुँदा करिब १६ करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको अनुमान छ।

बाढीले नेपालको सडक पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको छ। सडक विभागका महानिर्देशक डा. विजयका अनुसार, राष्ट्रिय सडक पूर्वाधारमा करिब ३० अरब रुपियाँको क्षति भएको छ। ८२ किलोमिटर लामो गल्छी-स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डको करिब ४० किलोमिटर भाग पूर्ण रूपमा ध्वस्त भएको छ, जसलाई पुनर्निर्माण गर्नुपर्नेछ। यसबाहेक पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पनि क्षति पुगेको छ।

बाढीमा ३१ वटा पुल बगेका छन् भने थप तीन पुलमा क्षति पुगेको छ। सडक विभागका अनुसार, यी सडक तथा पुलको पुनर्निर्माणमा करिब ५० अरब रुपियाँ खर्च हुने अनुमान छ। रसुवा र नुवाकोटमा ५३ वटा झोलुंगे पुल पनि बाढीबाट प्रभावित भएका छन्। तीमध्ये ३३ पुल पूर्ण रूपमा बगेका छन् भने २० पुल मर्मत गर्न सकिने अवस्थामा रहेको बताइएको छ।

स्थानीय पूर्वाधार विकास विभागका अनुसार, स्थानीय पूर्वाधारमा करिब १ अरब २५ करोड रुपियाँ बराबरको क्षति भएको छ। तत्काल यातायात तथा सम्पर्क व्यवस्था पुनःस्थापित गर्न केही स्थानमा रोपवे निर्माण गर्ने तयारी भइरहेको विभागले जनाएको छ। रसुवामा तीन र नुवाकोटमा दुई स्थानमा यस्तो व्यवस्था गर्न सकिने बताइएको छ। नुवाकोटको विदुर, बेलकोटगढी र इन्द्रचौरमा रोपवे निर्माणको काम भइसकेको छ भने रसुवामा तयारी भइरहेको छ।

ग्रामीण सडक मर्मतमा करिब ४० करोड रुपियाँ, झोलुंगे पुल मर्मतमा १५ करोड रुपियाँ र नयाँ रोपवे पुनर्निर्माणमा करिब ६० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ।

बाढीका कारण रसुवा, नुवाकोट, गोरखा र धादिङमा खानेपानी आपूर्ति व्यवस्था पनि प्रभावित भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार, रसुवामा १० वटा खानेपानी रिजर्भायर ट्यांकी क्षतिग्रस्त भएका छन् भने नुवाकोटमा १११, धादिङमा ७ र गोरखामा २४ वटा रिजर्भायर ट्यांकीमा क्षति पुगेको छ।

यसका अतिरिक्त खानेपानीका विभिन्न संरचनामा गरी करिब ६४ करोड रुपियाँ बराबरको क्षति भएको छ। ढल तथा सरसफाइसम्बन्धी संरचनामा पनि करिब २९ करोड रुपियाँको क्षति पुगेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande