बंगलादेशमा विद्रोहका क्रममा पुलिस चौकीबाट लुटिएका हतियार अपराधीको हातमा पुगे
सांकेतिक।


ढाका, २० सेप्टेम्बर (हि.स.)। बंगलादेशको स्पेशल रिस्पन्स बटालियन (एसआरबी) ले पुलिस चौकीबाट लुटिएका सबै हतियार अझै बरामद गर्न सकेको छैन। २०२४ को विद्यार्थी जनविद्रोहका क्रममा पुलिस चौकीबाट हजारौँ हतियार लुटिएका थिए। हालसम्म १ हजार ३०६ हतियार बेपत्ता छन्। तीमध्ये केही हतियार पछि अपराधीहरूले प्रयोग गरेको पाइएको छ। यिनै हतियारबाट कानुन कार्यान्वयन गर्ने निकायमाथि समेत आक्रमण भएका छन्।

बेपत्ता रहेका बाँकी हतियार आसन्न स्थानीय निर्वाचनका क्रममा प्रभाव जमाउन प्रयोग हुन सक्ने आशंकाले चिन्ता बढेको छ। एसआरबीलाई गत ९ सेप्टेम्बरमा ती हतियार बरामद गर्ने जिम्मेवारी दिइएको हो।

‘ढाका ट्रिब्युन’ को रिपोर्टअनुसार, एसआरबीले सर्वसाधारणसँग सहयोग मागिरहेको छ। सूचना दिने व्यक्तिलाई पुरस्कार दिने प्रस्ताव गरिएको छ भने उनीहरूको परिचय गोप्य राखिने आश्वासन दिइएको छ। पुलिस मुख्यालयका अनुसार, ५ अगस्त, २०२४ मा विभिन्न पुलिस चौकीबाट ५ हजार ७६३ हतियार लुटिएका थिए। तीमध्ये १४ सेप्टेम्बरसम्म ४ हजार ४५७ हतियार बरामद गरिएका छन् भने १ हजार ३०६ अझै बेपत्ता छन्।

सोही अवधिमा ६ लाख ५२ हजार ८ राउन्ड गोलीगठ्ठा पनि लुटिएको थियो। त्यसमध्ये ३ लाख ९४ हजार ८९५ राउन्ड बरामद भइसकेको छ भने २ लाख ५७ हजार ११३ राउन्ड अझै बेपत्ता छन्।

स्रोतका अनुसार, अधिकांश हतियार र गोलीगठ्ठा किशोर समूहका सदस्य तथा राजनीतिक कार्यकर्ताले लुटेका थिए। केही हतियार पछि कम मूल्यमा आपराधिक समूहलाई बिक्री गरिएको बताइएको छ। अहिले ती हतियार हत्या, जबर्जस्ती असुली, लुटपाट, डकैती, लागुऔषध कारोबार र जग्गा कब्जाजस्ता अपराधमा प्रयोग भइरहेको बताइएको छ। केही हतियार लुटेरा, अपहरणकारी, किशोर समूह, समुद्री डाकु तथा जंगलमा लुटपाट गर्ने समूहसम्म पनि पुगेको बताइएको छ।

पुलिसले हालै चटगाउँका अपराधी मुबारक हुसैन उर्फ ‘गलाकाटा मुबारक’ लाई पक्राउ गर्ने क्रममा प्रयोग भएको एउटा पेस्तोल ५ अगस्त, २०२४ मा चटगाउँको थानाबाट लुटिएको पुष्टि गरेको छ। २६ अगस्तमा भएको उक्त कारबाहीका क्रममा पुलिसमाथि यही पेस्तोलबाट गोली चलाइएको थियो। पुलिसका अनुसार, मुबारकले अनुसन्धान अधिकृतलाई आफूले उक्त हतियार अर्को एक अपराधीबाट प्राप्त गरेको बताएका छन्। यसबाट लुटिएपछि उक्त हतियार धेरै व्यक्तिको हातमा पुगेको देखिएको पुलिसले जनाएको छ।

अर्को घटनामा मीरपुरबाट बरामद गरिएको विदेशी पेस्तोल पनि ५ अगस्तपछि पुलिस चौकीबाट लुटिएको पाइएको छ। गत २ मार्चमा सैयदाबाद बस टर्मिनल क्षेत्रमा कारबाहीका क्रममा लागुऔषध नियन्त्रण विभागका एक निरीक्षकमाथि गोली चलाइएको थियो। पुलिसले उक्त घटनामा संलग्न संदिग्ध अपराधी तथा लागुऔषध कारोबारी ‘अटो सजल’ लाई पक्राउ गरेको थियो। उसको बयानका आधारमा स्वामीबागस्थित भाडाको घरबाट दुई विदेशी पेस्तोल, चार म्यागजिन, ७७ राउन्ड गोली र ५९ ग्राम हेरोइन बरामद गरिएको थियो। सजलले ती हतियार अगस्तमा वारी पुलिस चौकीबाट लुटिएको पुलिसलाई बताएका थिए।

गत शनिबार पुलिसले अराइहजार बजार केन्द्रिय जामा मस्जिदको दोस्रो तलामा रहेको एउटा दराजबाट एक पेस्तोल, दुई म्यागजिन र २० राउन्ड गोली बरामद गरेको छ। पुलिसका अनुसार, उक्त सामग्री सन् २०२४ को विद्रोहका क्रममा अराइहजार पुलिस चौकीबाट लुटिएको हतियार थियो।

पुलिस अनुसन्धानमा लुटिएका हतियार बिक्री गरिएको प्रमाणसमेत फेला परेको छ। केही व्यक्तिले लुटिएका पेस्तोल ५० हजार टाका मात्रमा बिक्री गरेको पाइएको बताइएको छ।

एसआरबीका वरिष्ठ अधिकारी विङ कमान्डर एजेडएम एन्टेखाब चौधरीले लुटिएका वा गैरकानुनी हतियारको अवस्थिति तथा ठेगानाबारे जानकारी भएमा पुलिसलाई सूचना दिन सर्वसाधारणसँग अपील गरेका छन्। उनले हतियार बरामद गर्न विशेष अभियान शुरु गरिएको बताए।

उनका अनुसार, खुलना, राजशाही र चटगाउँलगायत विभिन्न क्षेत्रमा गैरकानुनी हतियारबारे प्रारम्भिक जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande