
क्वेटा (बलोचिस्तान), २० सेप्टेम्बर (हि.स.)। सुरक्षा बलले कलातनजिक राष्ट्रिय राजमार्ग २५ मा अन्धाधुन्ध गोली चलाएर पाँच आतङ्कीलाई मारेको छ। कारबाहीका क्रममा २३ जना बन्धकलाई पनि मुक्त गरिएको छ। पाकिस्तान सशस्त्र बलको सञ्चार तथा जनसम्पर्क शाखा अन्तरसेवा जनसम्पर्क (आईएसपीआर) ले यो जानकारी दिएको हो।
‘द न्युज’ को रिपोर्टअनुसार, आईएसपीआरले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा सुरक्षा बलले आतङ्कीहरूको यातायात रोक्ने तथा आवागमनमा अवरोध सिर्जना गर्ने प्रयास विफल पारेको जनाएको छ। कारबाहीमा पाँच आतङ्की मारिएका छन् भने २३ बन्धकलाई मुक्त गरिएको छ।
विज्ञप्तिअनुसार, आतङ्कीहरूले यात्रुलाई अपहरण गर्ने, जबर्जस्ती रकम असुल्ने तथा सवारीसाधन लुट्ने उद्देश्यले राजमार्गमा अस्थायी जाँच चौकी बनाएका थिए। यसबारे जानकारी पाएपछि सुरक्षा बल घटनास्थलमा पुगेको र भएको गोलीबारीमा पाँच आतङ्की मारिएको जनाएको छ। घटनास्थलबाट हतियार, गोलीगठ्ठा तथा विस्फोटक पदार्थसमेत बरामद गरिएको छ।
आईएसपीआरका अनुसार, घटनास्थलबाट ६ वटा ट्रक, ३ वटा बस र २ वटा कार पनि बरामद गरिएको छ। आतङ्कीविरुद्धको यो कारबाही ‘अपरेसन रद्दुल फितना ३’ अन्तर्गत गरिएको जनाइएको छ।
यसअघि शनिबार सुरक्षा स्रोतले पन्जगुर र चगाई जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा ११ आतङ्की मारिएको जनाएको थियो। स्रोतका अनुसार, पन्जगुरको गोवारगो क्षेत्रमा पाँच तथा चगाईको अमिनाबाद र सियाह चाङ क्षेत्रमा ६ जना आतङ्की मारिएका थिए।
हिन्दुस्थान समाचार / बिशाल