
काठमाडौं, २० सेप्टेम्बर (हि.स.)। नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सरकारविरुद्ध आन्दोलनको तयारी गरिरहेको बताएका छन्। उनले दसैं र तिहारपछि देशको परिस्थितिको मूल्याङ्कन गर्दै नयाँ आन्दोलन शुरु गर्ने बताएका छन्।
आइतबार किसान महासंघसँग सम्बन्धित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले सरकारमाथि दमन, ज्यादती र अत्याचार गरेको आरोप लगाए। उनले सरकारका गतिविधिविरुद्ध व्यापक संयुक्त मोर्चा बनाएर आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको र आफ्नो पार्टी त्यसको तयारीमा रहेको बताए।
प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीस्वरूप विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिसँग निरन्तर छलफल भइरहेको जानकारी दिए। उनका अनुसार, यस्तो छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ।
उनले सबै मिलेर आफूले ‘प्रतिगमन’ भनेका विषयलाई परास्त गर्दै राजनीतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने संकल्प गर्नुपर्ने बताए। प्रचण्डका अनुसार, दसैं र तिहारपछि देशको राजनीतिक परिस्थितिको मूल्याङ्कन गरेर नयाँ आन्दोलनको पहल गरिनेछ।
यसअघि पनि प्रचण्डले संसदभित्र रहेका विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने तथा सरकारका गतिविधिविरुद्ध व्यापक संयुक्त मोर्चा निर्माण गर्ने प्रयास भइरहेको बताएका थिए।
हिन्दुस्थान समाचार / बिशाल