अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
सीएपी प्रतिनिधिमण्डल


गान्तोक, २१ सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको अखिल सिक्किम श्रमिक कल्याण परिषद्ले सिक्किम सरकारअन्तर्गत कार्यरत न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक पाइरहेका अस्थायी कर्मचारीहरूको कल्याण, अधिकार र संरक्षणसम्बन्धी विषय श्रम विभाग समक्ष उठाएको छ। परिषद्का कार्यवाहक उपाध्यक्ष आरसी राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा परिषद्का अध्यक्ष तिलक छेत्री तथा परिषद्का सदस्यहरू सहभागी थिए।

परिषद्का कार्यवाहक उपाध्यक्ष राईले सोमवार जारी प्रेस विज्ञप्तिमा प्रतिनिधिमण्डलले यस सम्बन्धमा श्रम विभागमा ज्ञापन पत्र बुझाएको बताएका छन्। विद्यमान श्रमसम्बन्धी प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अस्थायी कर्मचारीहरूलाई कानुनको मर्मअनुसार पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग परिषद्ले गरेको छ।

परिषद्का अनुसार, उक्त भेटघाट सीएपी सिक्किमले समाजका विभिन्न वर्गसँग निरन्तर गर्दै आएको जनस्तरीय सम्पर्क अभियानको हिस्सा हो। श्रमिकहरू सिक्किमको समाज र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएकाले उनीहरूको सम्मान, अधिकार, कल्याण तथा जीविकोपार्जनको सुरक्षामा उचित ध्यान दिनुपर्ने पार्टीले जनाएको छ।

सीएपी सिक्किमले राज्यका सिक्किमेली जनता तथा सबै वर्गका श्रमिकको हितमा काम गर्ने प्रतिबद्धता दोहोर्याएको छ। श्रमिक कल्याण परिषदमार्फत जनस्तरमा श्रमिकहरूसँग निरन्तर सम्पर्कमा रही उनीहरूका समस्या सुन्ने तथा वास्तविक मुद्दाहरू सम्बन्धित निकायसमक्ष रचनात्मक र लोकतान्त्रिक ढंगले प्रस्तुत गर्ने पार्टीले जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande