विद्या भारती सिक्किमको वार्षिक साधारण सभा २०२६ सम्पन्न
विद्या भारती सिक्किमको वार्षिक साधारण सभा २०२६ सम्पन्न


गान्तोक, २१ सेप्टेम्बर (हि.स.)। विद्या भारती सिक्किमको वार्षिक साधारण सभा २०२६ आइतवार सिक्किम कल्याण आश्रम, रानीपुलमा सफलतापूर्वक सम्पन्न भयो। सभाको औपचारिक उद्घाटन सिक्किम कृषि विश्वविद्यालय, रानीपुलका प्राध्यापक भरत कुश्रेले गरे।

कार्यक्रमको शुरुवात दीप प्रज्वलन तथा सरस्वती वन्दनाबाट गरिएको थियो। त्यसपछि विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले अतिथिहरूको स्वागत तथा परिचय गराउँदै प्रान्तीय कार्यकारिणीको परिचय प्रस्तुत गरे। यसैगरी, विद्या ज्योति एकेडेमी, बिजनबारीका प्रधानाचार्य अरुण छेत्रीले श्रद्धाञ्जली पाठ तथा समवेदना प्रस्ताव प्रस्तुत गरे।

विद्या भारती सिक्किमका कार्यालय प्रमुख सूर्य धितालले गत साधारण सभाका प्रस्तावहरूको पाठ तथा अनुमोदन गरे। महासचिव विजय कुमार शर्माले आर्थिक वर्ष २०२५-२६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे। कोषाध्यक्ष रिन्चेन भोटियाले आर्थिक वर्ष २०२५-२६ को आय-व्यय विवरण तथा २०२६-२७ को अनुमानित बजेट प्रस्तुत गरे, जसलाई सभाले अनुमोदन गरेको छ।

आर्थिक वर्ष २०२६-२७ का लागि बीसी पेरिवाल एन्ड एसोसिएट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिएको छ। संयोजक मोहन शर्माले विशेष कार्यक्रम, अमृत महोत्सव, वन्दे मातरम् गीतको १५०औँ वर्ष, संगठनात्मक विस्तार तथा विकास र आगामी योजनाहरूबारे विस्तृत प्रस्तुति दिए।

कार्यालय प्रमुख तथा परीक्षा प्रमुख सूर्य धितालले शैक्षिक गुणस्तर, शिक्षक प्रशिक्षण योजना, बोर्ड परीक्षाको समीक्षा तथा पुरस्कार वितरणसम्बन्धी जानकारी प्रस्तुत गरे। शैक्षिक सत्र २०२५ का प्रान्तस्तरीय कक्षा ३, ४ र ५ का उत्कृष्ट विद्यार्थीहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

सभामा विभिन्न संगठनात्मक तथा शैक्षिक विषयमा समेत सार्थक छलफल भएको बताइएको छ। मुख्य अतिथि तथा विद्या भारती सिक्किम प्रान्तका अध्यक्ष सीके राईले सभालाई सम्बोधन गर्दै संगठनलाई आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।

वार्षिक साधारण सभामार्फत विद्या भारती सिक्किमले गुणस्तरीय शिक्षा, सांस्कृतिक मूल्य, संगठनात्मक विकास तथा राष्ट्र निर्माणप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। साथै, आगामी वर्ष अझ बढी समर्पणका साथ कार्य गर्ने संकल्प गरिएको कार्यालय प्रमुख सूर्य धितालले बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande