नन्दीग्राम उपचुनाउपूर्व मिलन प्रधान उच्च अदालतको शरणमा पुगे
नन्दीग्राम उपचुनाउपूर्व मिलन प्रधान उच्च अदालतको शरणमा पुगे


कोलकाता, 21 सेप्टेम्बर (हि.स.)। उपचुनाउपूर्व पुरानो मामिलामा पक्रा परेका नन्दीग्रामबाट कङ्ग्रेस उम्मेद्वार मिलन प्रधानले अब कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाएका छन्। उनको आरोप छ, पक्राउपछि उनीमाथि थप पाँच वटा मामिला दर्ता गरिएको छ। यी मामिलाहरूमा ठूलो कानूनी कारबाहीदेखि बच्नको लागि उनले उच्च अदालतसित संरक्षणको माग गरेका छन्। मामिलाको सुनवाई मङ्गलवार हुनसक्छ।

मिलन प्रधानलाई लगभग 19 वर्ष पुरानो हत्या र अपहरणको मामिलमा पछिल्लो साता पक्राउ गरिएको थियो भने गत शनिवार उनलाई हल्दिया महकुमा अदालतमा पेश गरियो जहाँबाट उनलाई 14 दिनको न्यायिक हिरासतमा पठाइदियो। उनलाई आगामी 3 अक्टोबरसम्म जेलमा राख्ने निर्देश दिइएको छ।

मिलन प्रधानले आरोप लगाए, उनलाई एउटा मामिलामा पक्राउ गरिएको थियो, तर पछि उनीविरूद्ध थप पाँच वटा मामिला जोड़ियो। त्यसपछि उनले उच्च अदालतमा याचिका दर्ता गरी कानूनी संरक्षणको माग गरेका छन्।

नन्दीग्राम उपचुनाउमा तृणमूल कङ्ग्रेसकी उम्मेद्वार सञ्चित प्रधानले गत शुक्रवार आफ्नो उम्मेद्वारिता फिर्ता लिएकी थिइन्। त्यसपछि पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले कङ्ग्रेस उम्मेद्वारलाई समर्थन दिने घोषणा गरेकी थिइन्। यो घोषणा भएको केही घण्टा पनि नबित्दै मिलन प्रधानलाई पक्राउ गरियो।

पुलिस सूत्र अनुसार वर्ष 2007 को नन्दीग्राम आन्दोलनमा मिल प्रधानविरूद्ध केही गम्भीर आरोपहरूमा मामिला दर्ता भएको थियो। उनीविरूद्ध हत्याको चार वटा मामिलासँगसँगै हत्या गर्ने प्रयास, अपहरण, प्रमाण मेटाएको, अवैध रूपमा प्रवेश तथा हतियार अधिनियमन अन्तर्गत पनि मामिला दर्ता भएको जानकारी छ। यसमा तीन वटा नन्दीग्राम र एउटा मामिला खेजुरी थानामा दर्ता थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande