
गान्तोक, २१ सेप्टेम्बर (हि.स.)। कञ्चनजङ्घा राज्य विश्वविद्याल, संस्कृत विभाग र केन्द्रिय संस्कृत विश्वविद्यालय, नयाँ दिल्लीको संयुक्त तत्त्वावधानमा दस दिवसीय सरल, मानक संस्कृत शिविरको आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङको प्रेक्षागृहमा भव्य रूपमा सुभारम्भ गरियो।
विद्यार्थी एवम् संस्कृत भाषा सिक्न इच्छुक सर्वसाधारणलाई लक्ष्य गर्दै आयोजना गरिएको उक्त शिविर २१ सेप्टेम्बरदेखि ३० सेप्टेम्बर, २०२६ सम्म सञ्चालन हुनेछ। संस्कृत भाषाको अध्ययन तथा संस्कृत भाषाप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो।
उक्त शिविरको उद्धाटन समारोहमा अखिल सिक्किम खस छेत्री-बाहुन कल्याण सङ्घका अध्यक्ष एवम् सिक्किम सरकारका ग्रामीण विकास विभागका अध्यक्ष नारायण खतिवडा मुख्य अतिथिका रूपमा उपस्थित थिए। समारोहको अध्यक्षता कञ्चनजङ्घा राज्य विश्वविद्यालयका परीक्षा नियन्त्रक डा सुधन प्रधानले गरेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथिले संस्कृत भाषा भारतीय ज्ञान, संस्कृति, परम्परा र सभ्यताको महत्त्वपूर्ण आधार रहेको उल्लेख गर्दै संस्कृत साथै अन्य भारतीय भाषाहरूको संरक्षण र संवर्द्धन गर्नु सबैको साझा दायित्व रहेको बताए। उनले यस्ता भाषा प्रशिक्षण कार्यक्रमलाई दस दिनसम्म मात्र सीमित नराखी भविष्यमा निरन्तरता दिँदै अझ व्यापक रूपमा सञ्चालन गर्नु पर्नेमाथि जोड दिए।
यसै क्रममा कञ्चनजङ्घा राज्य विश्वविद्यालयका परीक्षा नियन्त्रक तथा कार्यक्रमका अध्यक्ष डा सुधन प्रधानले संस्कृत भाषाको विकास र विस्तारका लागि दस दिवसीय कार्यक्रम आयोजना गरेकोमा विभागप्रति आभार व्यक्त गरे। उनले संस्कृत भाषाको अध्ययन र प्रयोगलाई प्रोत्साहन गर्न संस्कृत भाषामा पोडकास्ट, सङ्गीत संयोजन, समाचार तथा पत्रपत्रिकाको प्रकाशन गर्नु पर्नेमाथि जोड दिए।
यस अवसरमा सिक्किम विश्वविद्यालय, जीवविज्ञान विभागका प्राध्यापक प्रो. भोजकुमार आचार्यले संस्कृत भाषा विश्वका भाषाहरूमध्ये सबैभन्दा प्राचीन भाषा तथा सबै भारतीय भाषाहरूको जननी भाषा रहेको उल्लेख गरे। उनले भारतमा संस्कृत भाषा बोल्नेहरूको जनसङ्ख्या अत्यन्त न्यून रहेको तथ्याङ्क प्रस्तुत गर्दै विद्यार्थीहरूलाई यस शिविरबाट पूर्ण लाभ उठाएर संस्कृत भाषा व्यवहारिक रूपमा प्रयोग गर्नु आह्वान गरे।
कार्यक्रममा संस्कृत विभागका सहायक प्राध्यापक एवम् सरल मानक संस्कृत शिविरका संयोजक डा युवराज घिमिरेले आयोजित दस दिवसीय शिविरको उद्देश्य एवम् विस्तृत रूपरेखा प्रस्तुत गरे।
कार्यक्रममा सिक्किम विश्वविद्यालय, जीवविज्ञान विभागका प्रो. भोजकुमार आचार्य, अकादमी प्रभारी डा बी.एल खाम्दाक, नरबहादुर भण्डारी सरकारी महाविद्यालयका सहायक प्राध्यापक डा टेकबहादुर छेत्री, सेडा महाविद्यालयका प्राचार्य, कञ्चनजङ्घा राज्य विश्वविद्यालय, भाषा सङ्कायका विभाग प्रमुख एवम् सहायक प्राध्यापकगणलगायत विद्यार्थीहरूको उल्लेखनीय उपस्थित रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल