हत्याको प्रयास गरेको आरोपमा मगराहाटका दुई टीएमसी नेता पक्राउ
गिरफ्तार -सांकेतिक फोटो


कोलकाता, २१ सेप्टेम्बर (हि.स.)। दक्षिण २४ परगना जिल्लाको मगराहाट पश्चिम क्षेत्रका दुई तृणमूल कांग्रेस नेताहरूलाई पुलिसले हत्या प्रयासको एक मामिलामा पक्राउ गरेको छ। उनीहरूदेखि आग्नेयास्त्र समेत जफत भएको पुलिसले जानकारी गराएको छ। पुलिस अनुसार, साल २०२० मा डायमन्ड हार्बरतर्फ जाँदै गर्दा तत्कालीन भाजपा अध्यक्ष जेपी नड्डाको काफिलामाथि भएको हमलामा पनि दुवै आरोपीको संलग्नता सम्बन्धी प्रमाण प्रारम्भिक रूपमा फेला परेको छ।

हालै दक्षिण २४ परगनाको पद्मपुकुर क्षेत्रका एक बासिन्दाले दुवै आरोपी विरुद्ध हत्या प्रयासको आरोप लगाउँदै उजुरी दिएका थिए। उजुरीकर्ता अनुसार, विधानसभा निर्वाचनअघि उनको हत्या गर्ने प्रयास गरिएको थियो। यस मामिलामा पुलिसले रिपन शेख र सञ्जीव मण्डललाई पक्राउ गरेको छ।

पुलिस अनुसार, दुवै विरुद्ध क्षेत्रमा मोटरसाइकल सवार समूहको माध्यमबाट दबदबा कायम गरेको तथा अन्य असामाजिक गतिविधिमा संलग्न रहेको आरोप लामो समयदेखि लाग्दै आएको थियो। डायमन्ड हार्बर पुलिस जिल्लाका पुलिस अधीक्षक चन्द्रशेखर बर्धनले घटनाको समय विधानसभा निर्वाचनअघिको रहेको बताए। उनी अनुसार, डरका कारण उजुरीकर्ताले निर्वाचनअघि उजुरी दिन सकेनन् र निर्वाचन सकिएपछि उजुरी दिएका हुन्।

पुलिसले सञ्जीवलाई आफ्ना समर्थकहरूसँग मिलेर क्षेत्रमा भयको वातावरण सिर्जना गर्ने मुख्य व्यक्तिका रूपमा उल्लेख गरेको छ। सञ्जीव स्थानीय पञ्चायत प्रमुखका पति रहेको बताइएको छ।

पुलिस अधीक्षक बर्धनले साल २०२० मा जेपी नड्डाको काफिलामाथि भएको हमलामा पनि पक्राउ परेका दुवै व्यक्तिको सम्बन्ध देखिएको दाबी गरेका छन्। उनी अनुसार, प्रारम्भिक अनुसन्धानमा दुवैको संलग्नताका प्रमाण फेला परेपछि पुरानो मामिलाको अनुसन्धान पुनः शुरु गरिएको छ। उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरी पक्राउ गरिने पुलिसले जनाएको छ।

उल्लेखनीय छ, साल २०२० को दिसम्बरमा नड्डा डायमन्ड हार्बरमा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका थिए। कार्यक्रमतर्फ जाने क्रममा उस्ती थाना क्षेत्रको शिराकोल नजिक राष्ट्रिय राजमार्ग–११७ मा नड्डाको काफिला तथा अन्य सवारीसाधनमाथि केही व्यक्तिले इँटा–ढुंगा प्रहार गरेका थिए। घटनामा नड्डाको गाड़ीमा ठूलो क्षति नभए पनि काफिलाका केही सवारीसाधनका सिसा फुटेका थिए।

त्यतिबेला भाजपा नेतृत्वले हमलाका लागि तृणमूल कांग्रेसलाई जिम्मेवार ठहराउँदै योजनाबद्ध रूपमा हमला गरिएको आरोप लगाएको थियो। तृणमूल कांग्रेसले भने उक्त आरोप अस्वीकार गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande