
देहरादून, २१ सेप्टेम्बर (हि.स.)। थाना क्लेमेनटाउन क्षेत्रमा सोमवार बिहान २६ वर्षीया महिलाको गोली हानी हत्या गरिएको छ। घटनापछि उनका पति धीरज पँवार फरार भएका छन्। पुलिसले उनको खोजीका लागि विभिन्न टोली परिचालन गरेको छ।
पुलिसको सञ्चार माध्यम शाखा अनुसार, बिहान लगभग ६ बजी धीरजले नियन्त्रण कक्षमा फोन गरी आफ्नी पत्नीलाई गोली हानेको सूचना दिएका थिए। पुलिसले उनीसँग सम्पर्क गर्ने प्रयास गरे पनि उनको मोबाइल बन्द रहेको पाइयो। फोनको स्थानका आधारमा पुलिस टोली एउटा खाली जग्गामा रहेको कोठामा पुग्यो, जहाँ काजलको शव फेला पऱ्यो। प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु गोली लागेर भएको पुष्टि भएको पुलिसले जनाएको छ।
काजल सुभाषनगर स्थित ईदगाह रोडमा आफ्ना पतिसँग बस्दै आएकी थिइन्। उनका भाइ अभिषेक पनि घटनास्थल नजिकै बस्छन्। भाइ अनुसार, दम्पतीबीच विगत केही दिनदेखि विवाद चलिरहेको थियो।
पुलिस र घटनास्थल अनुसन्धान टोलीले घटनास्थलबाट प्रमाण संकलन गरेका छन्। मृतकका भाइको लिखित उजुरीका आधारमा क्लेमेनटाउन थानामा हत्याको मुद्दा दर्ता गरिएको छ। पुलिसले आरोपीत पति धीरजको गिरफ्तारीका लागि सम्भावित ठेगानाहरूमा खोजी तथा छापा मारिरहेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी