
नोएडा, २४ सेप्टेम्बर (हि.स.)। दिल्लीको कश्मीरी गेटबाट उत्तर प्रदेशको महोबा जाँदै गरेको डबल डेकर बसमा बुधबार मध्यराति यमुना एक्सप्रेस-वे को ३३ किलोमिटरमा आगलागी भएको छ। बसमा त्यस समयमा ३५ जना सवार थिए। घटनाको सूचना पाएपछि घटनास्थल पुगेको दमकल, पुलिस तथा जिल्ला प्रशासनको टोलीले उद्धार गरी मानिसहरूलाई बाहिर निकाले।
यस दुर्घटनामा एक महिलासहित नौ जनाको जलेर मृत्यु भएको छ। घटनाका कारण मध्यरातिदेखि आज बिहानसम्म यमुना एक्सप्रेस-वेमा निकै हलचल देखियो। पुलिस तथा दमकलका अधिकारीहरूले ग्यास कटरको प्रयोग गरी बस काटेर त्यसमा फसेका शवहरू बाहिर निकाले।
अपर पुलिस आयुक्त कानुन तथा व्यवस्था राजीव नारायण मिश्रले दिल्लीको कश्मीरी गेटबाट ३५ जना यात्रु लिएर एउटा डबल डेकर बस बुधबार मध्यराति यमुना एक्सप्रेस-वेको बाटो हुँदै महोबा जिल्लातर्फ प्रस्थान गरेको बताए। उनले यमुना एक्सप्रेस-वे को ३३ किलोमिटरमा पुग्नेबित्तिकै बसमा अचानक आगलागी भएको बताए। घटनाको सूचना पाएपछि दमकल विभाग, पुलिस तथा जिल्ला प्रशासनका टोली घटनास्थल पुगेको उनले बताए।
उनका अनुसार, उद्धारपछि करिब २६ जनालाई बसबाट बाहिर निकालिएको थियो भने एक महिलासहित नौ जनाको जलेर मृत्यु भएको छ। केही मानिस बसभित्र भरिएको धुवाँका कारण बेहोस भएका थिए। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको र अहिले उनीहरूको अवस्था ठीक रहेको उनले बताए। आगलागीका कारण बसभित्र पूर्ण रूपमा धुवाँ भरिएको थियो। घटनाका बेला केही मानिसहरू सुतिरहेका थिए।
उनले धेरै मानिसहरू निदाइरहेका कारण बसभित्रै फसेको र जलेर मृत्यु भएको बताए। घटनास्थल पुगेको पुलिसले बसको सिसा फुटाउनुका साथै ग्यास कटरले बसका विभिन्न भाग काटेर त्यसमा फसेका मानिसहरूलाई बाहिर निकालेको अपर आयुक्तले बताए। उनका अनुसार, केही व्यक्तिको पहिचान भइसकेको छ भने केहीको अझै पहिचान हुन सकेको छैन। पुलिसले सबैको पहिचान गरी उनीहरूका आफन्तलाई सूचना दिने प्रयास गरिरहेको छ।
बसमा सवार रिंकी राजपुतले आफू नोएडाबाट डबल डेकर बसमा चढेर आफ्नो घर राठतर्फ जाँदै गरेको बताइन्। घटनाका बेला आफू सुतिरहेको उनले बताइन्। एक यात्रुले आफ्नो क्याबिनमा जोडसँग ढोका ढकढक्याएर उठाएपछि आफू बसबाट बाहिर निस्किएको उनले बताइन्।
उनले मानिसहरूबीच यति धेरै हलचल मच्चिएको बताइन् कि कसैले आफ्नो सामानसमेत उठाउन पाएनन्। मानिसहरू ज्यान बचाउन यताउता भागिरहेका थिए। घटनामा धेरै मानिसको सामान, नगद, गहना, मोबाइल फोनलगायतका सामग्री पनि जलेर नष्ट भएको उनले बताइन्।
उनका अनुसार, घटना भएको लगभग आधा घण्टापछि पुलिस र दमकलका गाडी घटनास्थल पुगेका थिए। बसमा सवार रिंकीका अनुसार, यस घटनामा नौ जनाभन्दा बढीको मृत्यु भएको हुन सक्ने आशंका छ।
हिन्दुस्थान समाचार / भवानी थामी