
पटना, २७ सेप्टेम्बर (हि.स.)। बिहारका पुलिस महानिर्देशक विनय कुमारले आगामी दिसम्बरमा अवकाश पाउनुअघि नै स्वैच्छिक अवकाश लिएका छन्। त्यसलगत्तै उनलाई राज्यको नयाँ मुख्य सूचना आयुक्त नियुक्त गरिएको छ।
बिहार गृह विभागले शनिबार अबेर राति जारी गरेको अधिसूचनाअनुसार, १९९१ ब्याचका भारतीय पुलिस सेवाका अधिकारी विनय कुमारले स्वास्थ्य कारणले केही समय बिदा लिएपछि २५ सेप्टेम्बरमा स्वैच्छिक अवकाशका लागि आवेदन दिएका थिए। सरकारले उनको आवेदन स्वीकृत गरेको छ।
अधिसूचनाअनुसार, तीन महिनाको पूर्वसूचना दिनुपर्ने नियममा छुट दिँदै उनलाई स्वैच्छिक अवकाश प्रदान गरिएको हो। सामान्य प्रशासन विभागको अर्को अधिसूचनाअनुसार विनय कुमारलाई कार्यभार सम्हालेको मितिदेखि मुख्य सूचना आयुक्त नियुक्त गरिएको छ।
अधिसूचना जारी भएसँगै विनय कुमारको बिहार राज्य मुख्य सूचना आयुक्त पदमा नियुक्ति औपचारिक रूपमा प्रभावी भएको छ। निर्धारित प्रक्रियाअनुसार, नियुक्तिसम्बन्धी सम्पूर्ण कारबाही पूरा भएपछि आदेश जारी गरिएको विभागले जनाएको छ।
मुख्य सूचना आयुक्तका रूपमा विनय कुमारले बिहार राज्य सूचना आयोगको जिम्मेवारी सम्हाल्नेछन्। सूचना अधिकारसम्बन्धी मामिला र आयोगको कामकारबाहीमा मुख्य सूचना आयुक्तको महत्वपूर्ण भूमिका हुन्छ। उनले आयोगमा विचाराधीन सूचना अधिकारसम्बन्धी मामिलाको निपटान तथा त्यससम्बन्धी प्रक्रियाको अनुगमन गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी