
नोएडा, २७ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेश अब इलेक्ट्रोनिक्स उत्पादनको केन्द्रमा मात्र सीमित नरही कृत्रिम बुद्धिमत्ता (एआई), सेमिकन्डक्टर, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देशकै अग्रणी राज्य बन्ने दिशामा तीव्र रूपमा अघि बढिरहेको केन्द्रिय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बताएका छन्।
शनिबार ‘इलेक्ट्रोनिक्स लिडरदेखि एआई तथा सेमिकन्डक्टर पावरहाउससम्म उत्तर प्रदेशको यात्रा’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले उत्तर प्रदेश देशको अर्को आर्थिक विकासको प्रमुख इन्जिन बन्ने दिशामा अघि बढिरहेको बताए। प्रसादले प्रविधि, नवप्रवर्तन, अनुसन्धान तथा उत्पादनको प्रमुख केन्द्रका रूपमा उत्तर प्रदेशलाई विकास गर्ने सरकारको लक्ष्य रहेको बताए। यसका लागि राज्यमा आवश्यक पूर्वाधार र पारिस्थितिक प्रणाली तीव्र रूपमा तयार भइरहेको उनले अवगत गराए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय दृष्टिकोण तथा मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा उत्तर प्रदेशमा परिवर्तन स्पष्ट रूपमा देखिन थालेको बताए। केन्द्र र राज्यबीचको समन्वयले यस परिवर्तनलाई थप गति दिएको उनले उल्लेख गरे। केन्द्रिय राज्यमन्त्रीले अब लगानीलाई नोएडामा मात्र सीमित नराखी उत्तर प्रदेशका अन्य क्षेत्रमा समेत इलेक्ट्रोनिक्स तथा प्रविधिसम्बन्धी अवसर सिर्जना गर्ने प्रयास भइरहेको बताए। यसबाट राज्यका युवाहरूले प्रत्यक्ष लाभ पाउने उनले बताए।
उनका अनुसार, स्यामसङ र योटाजस्ता ठूला लगानी, डाटा सेन्टर, एआई प्रयोगशाला तथा अन्य प्रविधि पूर्वाधारले उत्तर प्रदेशमा विकसित भइरहेको नयाँ औद्योगिक वातावरणलाई देखाउँछन्। डिजाइनदेखि सेमिकन्डक्टरका कम्पोनेन्ट, इलेक्ट्रोनिक्स उत्पादन र निर्यातसम्मको सम्पूर्ण मूल्य शृंखला राज्यमा विकास गर्ने सरकारको लक्ष्य रहेको उनले बताए।
भारत अब केवल उत्पादनको संयोजन गर्ने देशमा सीमित नरहने बताउँदै प्रसादले इलेक्ट्रोनिक कम्पोनेन्ट उत्पादन योजनाजस्ता पहलमार्फत देश अवयव उत्पादनतर्फ अघि बढिरहेको उल्लेख गरे। यस परिवर्तनमा उत्तर प्रदेशले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए।
उनले सरकारी प्रोत्साहन र अनुदान विकासलाई गति दिने माध्यम भए पनि उद्योगको दीर्घकालीन सफलता प्रतिस्पर्धात्मक क्षमतामा निर्भर रहने बताए। सरकारले भूमि, नीति, स्वीकृति तथा आवश्यक सुविधा उपलब्ध गराउन सक्ने भए पनि उद्योगहरू अन्ततः प्रतिस्पर्धी र आत्मनिर्भर बन्नुपर्ने उनको भनाइ थियो।
एआईको प्रयोग केवल प्रविधि अपनाउनका लागि नभई उत्पादकत्व, कार्यदक्षता र लागत प्रतिस्पर्धात्मकता बढाउनका लागि हुनुपर्ने प्रसादले बताए। एआईको प्रयोगबाट कुनै लघु, साना तथा मझौला उद्यमले लागत घटाउन वा उत्पादकत्व बढाउन सकेमा त्यसलाई प्रविधिको वास्तविक लाभ मान्न सकिने उनले बताए।
उनले युवाहरूलाई एआई नवप्रवर्तक, अनुसन्धानकर्ता तथा प्रविधि प्रयोगकर्ताका रूपमा तयार गर्नुपर्नेमा जोड दिँदै भारतीय प्रविधि संस्थान कानपुरलगायत अनुसन्धान संस्थान र उद्योगबीच थप सहकार्य आवश्यक रहेको बताए।
यसैबीच, उत्तर प्रदेशका आईटी तथा इलेक्ट्रोनिक्सका प्रमुख सचिव आलोक कुमारले राज्यमा इलेक्ट्रोनिक्स तथा सेमिकन्डक्टरको पारिस्थितिक प्रणाली विकाससँगै मोबाइल उत्पादन र विश्वव्यापी क्षमता केन्द्रमा विशेष ध्यान दिइरहेको बताए। उनका अनुसार, नोएडामा यसअघि नै विश्वव्यापी क्षमता केन्द्रहरू सञ्चालनमा छन् भने लखनउमा पनि केही केन्द्रले काम शुरु गरिसकेका छन्। नयाँ विश्वव्यापी क्षमता केन्द्र नीति तथा आईटी नीतिमार्फत नोएडासँगै लखनउ र कानपुर क्षेत्रमा थप यस्ता केन्द्र आकर्षित गर्ने लक्ष्य रहेको उनले बताए।
उनले लखनउमा आईबीएमलगायत विभिन्न आईटी तथा प्रविधि कम्पनीहरू सञ्चालनमा रहेको जानकारी दिँदै राज्यका विश्वव्यापी क्षमता केन्द्र तथा आईटी नीतिलाई अन्य राज्यको नीतिअनुरूप थप सुदृढ बनाइएको बताए। आईटी तथा आईटीमा आधारित सेवाले यसअघि नै उद्योगको मान्यता पाइसकेको उनले उल्लेख गरे।
हिन्दुस्थान समाचार / भवानी थामी