
गान्तोक, 27 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले विश्व पर्यटन दिवस २०२६ को अवसरमा सिक्किम राज्यलाई दिगो तथा जिम्मेवार पर्यटनको उदाहरणका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा आज जारी आफ्नो सन्देशमा जपर्यटनलाई आर्थिक वृद्धिको माध्यम मात्र नभई मानिस, संस्कृति र समुदायलाई जोड्ने तथा दिगो विकास प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गरेका छन्। सिक्किमले संरक्षणसँगै समृद्धिको अवधारणाअनुसार प्रकृति, संस्कृति र समुदायलाई विकासको केन्द्रमा राख्दै आएको उनले बताएका छन्।
वन संरक्षण, जिम्मेवार पर्यटन तथा सांस्कृतिक सम्पदाको संरक्षणमार्फत पर्यावरण, अर्थतन्त्र र स्थानीय जनजीविकाबीच सन्तुलन कायम गर्नुपर्नेमा उनले जोड दिएका छन्। सानो हिमाली राज्यका रूपमा सिक्किमका हिमाल, हिमनदी, नदी, वन तथा जैविक विविधता संवेदनशील पारिस्थितिक प्रणालीको हिस्सा रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले गुम्बा, परम्परा, हस्तकला, पर्व तथा स्थानीय संस्कृतिको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्।
उनले पर्यटनलाई केवल पर्यटक आगमनमा सीमित नराखी स्थानीय समुदायको सशक्तीकरण, सम्मानजनक रोजगारी सिर्जना, पारिस्थितिक प्रणालीको पुनर्स्थापना, जलवायु उत्थानशीलता तथा सांस्कृतिक समझदारीसँग जोड्नुपर्ने बताएका छन्। उनले सिक्किमलाई दिगो तथा पुनरुत्पादक पर्यटनको उच्च हिमाली केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै आर्थिक अवसर र पर्यावरणीय जिम्मेवारी सँगसँगै अघि बढाउन सकिने उल्लेख गरेका छन्।
विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्रीले प्रकृति संरक्षण, स्थानीय समुदायको सशक्तीकरण र गन्तव्यको दीर्घकालीन उत्थानमा योगदान पुर्याउने जिम्मेवार पर्यटन प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता नवीकरण गर्न आह्वान गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल