
कोलकाता, 28 सेप्टेम्बर (हि.स.)। विधानसभा चुनाउपछि आफ्नो जेड प्लस सुरक्षालाई हटाइएकोमा मुख्य विपक्षी दल तृणमूल कङ्ग्रेसका महासचिव अभिषेक ब्यानर्जीले कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाएका छन्। आफ्नो सुरक्षा व्यवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले उच्च अदालतमा याचिका दर्ता गरी पर्याप्त सुरक्षा उपलब्ध गराउने माग गरेका छन्। उनको याचिकामा आरोप लगाइएको छ, चुनाउपछि उनको भीआईपी सुरक्षालाई पूर्ण रूपमा फिर्ता लिइएको छ र हाल उनको सुरक्षा व्यवस्था केही 'हाउस गार्ड्स'को भरोसामा चलिरहेको छ।
सोमवार अदालतमा अभिषेक ब्यानर्जीका पक्ष राख्दै उनका वकिलले बताए, उनका मुवक्किल राज्यको प्रमुख विपक्षी दलका महासचिव हुन् भने राजनीतिक रूपमा यो निकै महत्त्वपूर्ण पद हो। विधानसभा चुनावअघि उनलाई जेड प्लस श्रेणीको कड़ा सुरक्षा दिइएको थियो, तर चुनाउ सकिएपछि सुरक्षा फिर्ता लिइयो। वकिलले अदालतमा दाबी गरे, भीआईपी सुरक्षालाई फिर्ता लिइएपछि अभिषेक ब्यानर्जीले धेरै पटक हमलाको सामना गरिसकेका छन्। वर्तमानमा उनीसित कुनै विशेष सुरक्षा बल (एसपिएफ) छैन जसले गर्दा उनको जीवन जोखिममा छ। यस्तै परिस्थितिहरूको आधारमा वकिलले अदालतसित यस मुद्दामा तत्काल सुनवाई गर्ने आग्रह गरे।
याचिकाकर्ताका वकिलको प्राथमिक तर्क सुनेपछि न्यायाधीश कृष्ण रावले अभिषेक ब्यानर्जीलाई यस सम्बन्धमा औपचारिक मुद्दा दर्ता गर्न अनुमति दिएका छन्। अदालतले सुरक्षा सम्बन्धी यस मुद्दाको सुनवाई आगामी 6 अक्टोबरमा गर्ने भएको छ। त्यस दिन राज्य सरकारले पनि सुरक्षा फिर्ता लिनुको कारण बारे आफ्नो पक्ष राख्न सक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा