
तिनसुकिया (असम), 28 सेप्टेम्बर (हि,स.)। मार्घेरिटामा पुलिसलाई ठूलो सफलता प्राप्त भएको छ। पुलिसले एक गुप्त सूचनाको आधारमा अभियान सञ्चालन गरी प्रतिबन्धित ड्रग्ससितै एकजना तस्कर किशोर पाइटलाई पक्राउ गरेको छ। मार्घेरिटा पुलिसले आज बताएको छ, गुप्त सूचनाको आधारमा मार्घेरिटाको सेगुनबारीमा पुलिसद्वारा सञ्चालित विशेष अभियानमा एउटा वाहनमा प्रतिबन्धित ड्रग्स भेटियो।त्यसपछि पुलिसले किशोर पाइट नामक युवकलाई ड्रग्ससितै पक्राउ गऱ्यो।
लिडुदेखि धेमाजीसम्म प्रतिबन्धित लागू औषधि तस्करी गर्ने प्रयास गर्दा पुलिसले युवकलाई पक्राउ गरेको हो। धेमाजी निवासी किशोर पाइटको झोलामा लुकाएर राखिएका चारवटा प्लास्टिकको खैनीको डब्बाबाट लगभग 1 ग्राम लागू औषधि जफत गरियो। प्रतिबन्धित लागू औषधिको बजार मूल्य 10 हजार रुपैयाँभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ।
पुलिसले प्रतिबन्धित पदार्थ जफत गर्नको साथै पक्रा परेका युवकलाई पुलिस थानामा ल्याएर थप जानकारी जुटाउनको लागि जाँचबुझ गरिरहेको छ। पुलिसको यो सतर्कताले यस क्षेत्रमा लागू औषधिको अवैध व्यापारमा संलग्न गिरोहहरूको निद्रा हराएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा