
काठमाडौं, २८ सेप्टेम्बर (हि.स.)। नेपालमा लगातार भइरहेको वर्षापछि बागलुङ जिल्लाका विभिन्न स्थानमा गएको पैह्रोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। आइतबार मात्रै नौ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको पुलिसले जनाएको छ। शनिबार एक जनाको मृत्यु भएको थियो।
जिल्ला पुलिस कार्यालय बागलुङका प्रमुख फणिन्द्र प्रसाईंका अनुसार, आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। यसैगरी, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ।
तमानखोलामा पैह्रोले घर पुरिँदा बुद्धिराज घर्ती (८०) र भीमदेवी घर्ती (६६) को मृत्यु भएको छ। सोही क्षेत्रमा पैह्रोका कारण आठ घर बगेका छन्। यसैगरी, पैह्रोले घर पुरिँदा हस्तवीर श्रीपाली (५०) र उडिसरा श्रीपाली (६५) को मृत्यु भएको छ। हस्तवीरकी श्रीमती पैह्रो गएपछि बेपत्ता भएकी छन्।
यसरी नै निसीखोलाको हदधारामा पैह्रोले घर पुरिँदा एउटै परिवारका चार जनाको मृत्यु भएको छ। मृतकको पहिचान श्यामकुमारी विक (३६) तथा उनका छोराहरू मनोज (१३), मुकेश (८) र निशान विक (३) का रूपमा भएको छ।
निसीखोलाको रंगिलमा पैह्रोले गोठ पुरिँदा सूर्यबहादुर घर्ती (५०) को मृत्यु भएको छ। यसअघि शनिबार ताराखोला धस्मरमा पैह्रोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार, पूर्वसूचना प्राप्त भएकाले थप मानवीय क्षति हुनबाट रोक्न सकिएको हो। पैह्रो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकोप्टरसहित सुरक्षा अधिकारीहरूको टोली परिचालन गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल