


न्युयोर्क, २७ सेप्टेम्बर (हि.स.)। भारतीय विदेशमन्त्री एस. जयशंकरले शनिबार (स्थानीय समय अनुसार) ८१औँ संयुक्त राष्ट्र महासभा (यूएनजीए) को अवसरमा क्यानडा, मेक्सिको र भेनेजुएलाका आफ्ना समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत तस्बिरसहित जानकारी दिएका हुन्।
जयशंकरले क्यानडाकी विदेशमन्त्री अनिता आनन्दसँग भेटवार्ता गरी अर्थपूर्ण छलफल गरेको बताए। उनले दुवै पक्ष भारत-क्यानडा सम्बन्धलाई अझ उच्च स्तरमा लैजान तयार रहेको बताएका छन्।
यसैगरी, उनले मेक्सिकोका विदेशमन्त्री रोबर्टो भेलास्को अल्भारेजसँग पनि भेटवार्ता गरेको जानकारी दिएका छन्।
जयशंकरले संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेनेजुएलाका विदेशमन्त्री फेलिक्स प्लासेन्सिया गोन्जालेजसँग पनि राम्रो भेटवार्ता भएको बताए। उनले भारत र भेनेजुएलाबीचको ऊर्जा सम्बन्ध तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै द्विपक्षीय सहयोगका अन्य क्षेत्रका साथै ऊर्जा सम्बन्धबारे छलफल भएको जानकारी दिए। भेटवार्ताका क्रममा विद्यमान क्षेत्रीय विषयमा पनि छलफल भएको उनले बताए।
यसअघि जयशंकरले ८१औँ संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरेका थिए। उनले भारतले कृत्रिम बुद्धिमत्तालाई विश्व दक्षिणसँगको साझेदारीको कार्यसूचीको महत्वपूर्ण हिस्सा मानेको बताए। कृत्रिम बुद्धिमत्ता मानव सशक्तीकरण, आर्थिक समृद्धि तथा जनसंख्यासँग सम्बन्धित समस्याको समाधानका लागि परिवर्तनकारी माध्यम बन्न सक्ने उनले उल्लेख गरे।
उनले प्रविधिको लोकतान्त्रीकरण तथा सांस्कृतिक समझदारीको आवश्यकतामा समेत जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल