सप्तरीमा बाढीको कहर, ५०० घर डुबे, दुई हजारभन्दा बढी प्रभावित
नेपाल के सप्तरी जिला में बाढ़


काठमाडौं, २७ सेप्टेम्बर (हि.स.)। पछिल्लो तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण नेपालको सप्तरी जिल्लामा बाढीको अवस्था गम्भीर बनेको छ। हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न बस्तीमा बाढीको पानी पस्दा करिब ५०० घर डुबानमा परेका छन्। बाढीबाट दुई हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

हनुमाननगर कंकालिनी नगरपालिकाका वार्ड नम्बर ५, ७, १२ र १३ का बस्तीमा बाढीको पानी पस्दा ४८३ घर डुबानमा परेका छन्। यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ४ र ५ मा १७ घर जलमग्न भएका छन्।

हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले शुक्रबार राति सप्तकोसी नदीमा पानीको सतह बढेपछि बस्तीमा बाढीको पानी पसेको बताए। उनले बाढी प्रभावितका लागि तत्काल बिहान र बेलुका गरी दिनमा दुई पटक खानाको व्यवस्था गरिएको जानकारी दिए।

पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी उनीहरूलाई थप राहत सामग्री उपलब्ध गराइने पनि माझीले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande