
गुवाहाटी, 0८ सेप्टेम्बर (हि.स.)। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले महान् संगीतकार तथा भारत रत्न डा. भूपेन हजारिकाको १००औँ जयन्तीका अवसरमा गुवाहाटी स्थित दीघलीपुखुरीमा रहेको उनको प्रतिमामा पुष्पाञ्जली अर्पण गरेका छन्। कार्यक्रम अखिल असम विद्यार्थी संघ (आसू)ले आयोजना गरेको थियो।
राज्यपाल आचार्यले डा. हजारिकालाई असमको प्रतिष्ठित आवाज तथा मानवताका प्रबल समर्थकका रूपमा स्मरण गर्दै उनको अमर सन्देशले प्रेम, करुणा र भाइचाराको शाश्वत मूल्यलाई अभिव्यक्त गर्ने बताए।
उनले असमको माटो र ब्रह्मपुत्रको भावनासँग जोड़िएको डा. हजारिकाको संगीतले सीमाना पार गर्दै पुस्तौँदेखि मानिसहरूलाई एकजुट गर्दै आएको उल्लेख गरे।
राज्यपालले असमिया संस्कृति, संगीत र मानवतावादका क्षेत्रमा डा. हजारिकाको अतुलनीय योगदानको स्मरण गर्दै जन्म शताब्दीमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा उनले दीघलीपुखुरी परिसरमा वृक्षारोपण समेत गरे। पछि लोक भवनमा पनि डा. भूपेन हजारिकाको प्रतिमामा पुष्पाञ्जली अर्पण गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी