
खरसाङ, 08 सेप्टेम्बर (हि.स.)। नेपाली भाषामा क्षेत्रीय पृष्ठभूमिमा आधारित छोटो चलचित्र ‘खोलासँगै (एन एटेम्प्ट एट ग्रिफ)’ जम्मू-कश्मीर प्रथम अन्तरराष्ट्रिय फिल्म महोत्सव (आईएफएफजेके) २०२६ को प्रतिष्ठित ‘भारत पानोरामा’ विधाका लागि आधिकारिक रूपमा चयन भएको छ। जम्मू-कश्मीर सरकारको सूचना तथा जनसम्पर्क विभागद्वारा आयोजित फिल्म महोत्सवको पहिलो संस्करण ७ देखि १० सेप्टेम्बर, २०२६ सम्म सञ्चालन भइरहेको छ।
खरसाङ महकुमाअन्तर्गत सिटोङकी युवा निर्देशक श्यारोन टिसा लेप्चाद्वारा निर्देशित ८ मिनेट २९ सेकेन्ड लामो यस छोटो चलचित्रले शोक र पीडाको संवेदनशीलता तथा मानवीय भावनाको गहिराइलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ। चलचित्रले दुःख र आशाबीचको अनौठो सन्तुलनलाई पर्दामा उतारेको छ।
आईएफएफजेकेको ‘भारत पानोरामा’ गैर-प्रतिस्पर्धी विधाले समकालीन भारतीय सिनेमाको विविधता, सांस्कृतिक समृद्धि तथा विभिन्न भाषामा निर्माण भएका उत्कृष्ट कथाहरूलाई प्रतिनिधित्व गर्दछ। यस विधामा चलचित्र चयन हुनु यसको कलात्मक उत्कृष्टता तथा मौलिक कथावाचनलाई अन्तरराष्ट्रिय मञ्चमा परिचित गराउने महत्वपूर्ण उपलब्धि मानिएको छ।
आफूले निर्देशन गरेको चलचित्र चयन भएपछि निर्देशक श्यारोन टिसा लेप्चाले ‘खोलासँगै’ पहिलो जम्मू-कश्मीर अन्तरराष्ट्रिय फिल्म महोत्सवको हिस्सा बन्न पाउनु सम्पूर्ण टोलीका लागि अत्यन्तै गर्वको विषय भएको बताएकी छन्। यस छनोटले स्थानीय कथा र भावनालाई अझ धेरै दर्शकसम्म पुर्याउन मद्दत गर्ने विश्वाससमेत उनले व्यक्त गरेकी छन्।
हिन्दुस्थान समाचार / हनोक