
दुबई, ०७ सेप्टेम्बर (हि.स.)। बायाँ हाते स्पिनर नशरा सन्धूको शानदार बलिङको मद्दतमा पाकिस्तानले सोमबार एसीसी महिला टी२० एसिया कपको समूह-ए अन्तर्गतको खेलमा हङकङलाई ७२ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले अब ११ सेप्टेम्बरमा दोस्रो सेमिफाइनलमा श्रीलंकासँग भिड्नेछ।
पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो। शावाल जुल्फिकारले ३५ बलमा ७ चौकाको मद्दतले ४७ रनको महत्वपूर्ण पारी खेलिन्। आयशा जफरले १९ बलमा २६ रन बनाइन् भने कप्तान फातिमा सना २४ बलमा २४ रन बनाएर नटआउट रहिन्। हङकङकी जोयलिन कौरले चार विकेट लिइन्।
लक्ष्य पछ्याउन मैदानमा उत्रिएको हङकङको टोली नशरा सन्धूको स्पिनसामु टिक्न सकेन र ७१ रनमा अलआउट भयो। नशराले चार ओभरमा केवल ७ रन खर्चेर ६ विकेट लिइन् र उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।
यो टी२० अन्तरराष्ट्रिय क्रिकेटमा नशराको पहिलो छ विकेटको प्रदर्शन हो। उनको ४-०-७-६ को बलिङ आँकडा पाकिस्तानकी महिला क्रिकेटरले टी२० अन्तरराष्ट्रियमा गरेको उत्कृष्ट बलिङ प्रदर्शन पनि बनेको छ। उनले ओमैमा सोहैलले २०२२ मा श्रीलंकाविरुद्ध बनाएको ५/१३ को कीर्तिमानलाई पछाडि पारिन्।
पाकिस्तानले तीन खेलमा दुई जितसहित समूह-ए मा चार अंक जोड्दै दोस्रो स्थान हासिल गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल