
गान्तोक, 08 सेप्टेम्बर (हि.स.)। सिङ्ताम थानाका एसएचओ पीआई किशोरकुमार छेत्रीले प्राप्त गरेको विश्वसनीय सूचनाका आधारमा पुलिसले सिङ्तामको डॉंडागाउँस्थित भाडाको घरमा प्रतिबन्धित पदार्थको अवैध बिक्री भइरहेको जानकारी पाएपछि उक्त घरमा छापा मारेको थियो। खोजतलासीका क्रममा पुलिसले व्यावसायिक परिमाणमा शंकास्पद प्रतिबन्धित पदार्थ बरामद गरेको छ।
यस सम्बन्धमा डॉंडागाउँ, सिङ्ताम निवासी ५६ वर्षीय वीरबहादुर गुरुङलाई पुलिसले नियन्त्रणमा लिएको छ। आरोपी व्यक्तिविरुद्ध कानुनका सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ। घटनाबारे थप जॉंच भइरहेको पुलिसले जनाएको छ।
उक्त कारबाही डेपुटी एसपी डम्बर सिंह तिरवाको नेतृत्वमा सञ्चालन गरिएको थियो। टोलीमा एनके दीपक पोखरेल, एलएनके विमल छेत्री, एलएनके वीरखबहादुर छेत्री, एसए सन्दीप दाहाल, डब्ल्यूसीटी सुष्मिता प्रधान र एसए बिन्दो शर्मालगायत सहभागी थिए।
सिङ्ताम पुलिसले लागूऔषध तस्करीविरुद्धको अभियानलाई निरन्तरता दिँदै युवा तथा समुदायलाई लागूऔषधको दुष्प्रभावबाट सुरक्षित राख्न आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
हिन्दुस्थान समाचार / बिशाल