खरसाङ निवासी सन्नी राई लद्दाखका उच्च स्थानहरूको साहसिक यात्रासहित राष्ट्रिय झण्डा गाँडेर सकुशल फर्किए
Sanny-Rai-Kurseong


खरसाङ, 18 अक्टाेबर (हि.स.)। खरसाङ निवासी सन्नी राई लद्दाखका उच्च स्थानहरूको साहसिक यात्रा गरेर भारतको राष्ट्रिय झण्डा गाँडेर सकुशल खरसाङ फर्किएका छन्। खरसाङको वार्ड नम्बर 20 निवासी देवेन राईका सुपुत्र 27 वर्षीय सन्नी राईले गत 8 अक्टोबरदेखि यात्रा शुरु गरेर शुक्रवार सफलतापूर्वक सकुशल खरसाङ फर्किआएका छन्।

खरसाङको बह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा रहेर सेवा कार्य गर्दै आईरहेका सन्नी राईसहित चारजना महिला टोली लद्दाखको लागि साहसिक यात्रा शुरू गरेका थिए। उनी लद्दाखमा रहेको विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको हुलाक कार्यालय हिकिम पुगेर फर्केका छन्। यो स्थान 14567 फिट उँचाईको रहेको स्थित छ। त्यसरी नै सन्नी राई र उनको टोली विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको गाउँ कोमिक पुग्याे, जुन 15027 फिटको उँचाईमा रहेको छ।

सन्नी राई र टिमले 12270 फिटमा स्थित विश्वको सबैभन्दा उचाईमा रहेको काजाको पेट्रोल पम्प पुगेको जानकारी प्राप्त भएको छ। यस ठाउँबाट पनि वाहनहरूका लागि ईन्धन वितरण गरिन्छ। यसको अतिरिक्त सन्नी राई एशियाकै सबैभन्दा उच्च स्थानमा रहेको झुण्डिएको पुल चिचम पुल पनि पुगेका थिए, जसको उँचाई 13596 फिट रहेको बताइएको छ। त्यसरी नै उनी विश्वको सबैभन्दा अग्लो स्थानमा वाहन गुड्न सक्ने सड़क यात्रा गर्न 'उम्लिङ ला' पनि पुगेका थिए। यस ठाउँको उँचाई 19024 फिट रहेको बताइएको छ।

खरसाङको सुपुत्र सन्नी राईले लद्दाखको अग्लो स्थानतिर साहसिक यात्रा गर्दै 12 दिने विजय यात्रा पूरा गरेर शुक्रवार खरसाङ आईपुगेको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराएका छन्। उनले सन्नी राईले विश्वको सबैभन्दा अग्लो स्थानतिर रहेको हुलाक कार्यालय, गाउँ, झुण्डिएको पुल, अग्लो स्थानमा रहेको सड़क मार्गसित जोडिएको ठाउँमा पुगेर फर्केको बताउँदै ती अग्लो स्थानतिर भारतको राष्ट्रिय झण्डा गाँडेर सकुशल फर्केको बताए। उनले सन्नी राई युवाहरूका लागि प्रेरणाको स्रोत रहेकाे बताए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande