आगामी उपचुनाउका लागि एसकेएम पार्टी संसदीय बोर्डको पहिलो प्रारम्भिक बैठक सम्पन्न
आगामी उपचुनाउका लागि एसकेएम पार्टी संसदीय बोर्डको पहिलो प्रारम्भिक बैठक सम्पन्न


गान्तोक, 18 अक्टोबर (हि.स.)। आगामी उपचुनाउलाई ध्यानमा राख्दै सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी संसदीय बोर्डको पहिलो प्रारम्भिक बैठक अध्यक्ष कुङ्गा निमा लेप्चाको अध्यक्षतामा आज देवरालीमा सम्पन्न भयो। सभामा बोर्डका सदस्यहरू सोनाम लामा, अरुण कुमार उप्रेती, भोजराज राई र नरबहादुर दाहाल (छेत्री) उपस्थित थिए।

यस प्रतिष्ठित र महत्वपूर्ण समितिमा नियुक्त गरिएकोमा पार्टी अध्यक्ष प्रेमसिंह तामाङ (गोले) प्रति बोर्डले कृतज्ञता व्यक्त गरेको छ। बोर्डका सदस्यहरुले सम्मानस्वरुप बोर्डका अध्यक्षलाई खदा लगाएपछि बैठक सुरु भएको थियो। आजको बैठकमा सोरेङ–च्याखुङ र नाम्ची–सिङ्गीथाङ विधानसभा क्षेत्रमा आसन्न उपचुनाउका सम्भावित उम्मेदवारका बारेमा प्रारम्भिक छलफल भएको विज्ञप्तिमा उल्लेख छ।

बैठकमा कार्यकर्ताबाट आएका सुझाउहरूका आधारमा पार्टीको अभियानको रणनीति पनि तयार पारिएको बताइएको छ। समितिले चाँडै नै पार्टी अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाउने र पार्टीको आधिकारिक उम्मेदवारको नाम चाँडै घोषणा गरिने जनाएको छ। बैठकले पार्टीका सबै कार्यकर्तालाई आधिकारिक उम्मेदवार घोषणा नहुञ्जेलसम्म संयमित रहन आग्रह गर्दै पार्टीको निर्णयलाई सर्वसम्मत समर्थन गर्न अपील गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande