श्रीनगर, 21 अक्टोबर (हि.स.)। जम्मू-कश्मीरको गान्दरबल जिल्लाको गगनगीर क्षेत्रमा आइतवार राति भएको आतङ्की हमलामा बडगामका एक डाक्टर र पॉंच गैर स्थानीय मारिएका छन्। हमलामा पॉंच अन्य घाइते भएका छन्, उनीहरूलाई श्रीनगर रेफर गरिएको छ। केन्द्रिय गृहमन्त्री अमित शाहले आतङ्कवादी हमलाको निन्दा गर्दै यस जघन्य कृत्यमा सामेल आतङ्कीहरूलाई छाडिने छैन भनी बताएका छन्।
अमित शाहले एक्समा लेखे, 'जम्मू कश्मीरको गगनगीरमा नागरिकहरूमाथि कायरतापूर्ण आतङ्की हमला एक घृणित कायरतापूर्ण कृत्य हो। यस जघन्य कृत्यमा सामेल मानिसहरूलाई छाडिने छैन र उनीहरूले हाम्रा सुरक्षा बलहरूबाट कड़ा प्रतिक्रियाको सामना गर्नुपर्नेछ।' मानिसहरूको मृत्युप्रति दु:ख व्यक्त गर्दै गृहमन्त्रीले मृतकहरूका परिवारप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको निम्ति प्रार्थना गरेका छन्।
यसैगरी, राज्यका राज्यपाल मनोज सिन्हाले भने, 'म गगनगीरमा नागरिकहरूको जघन्य आतङ्कवादी हमलाको कड़ा निन्दा गर्दछु। यस घृणित कृत्यमा संलग्न मानिसहरूलाई छाडिने छैन भनी म आश्वास्त गर्दछु। हामीले जम्मू कश्मीर पुलिस, सेना र सुरक्षा बलहरूलाई पूर्ण स्वतन्त्रता दिएका छौ।
उल्लेखनीय छ, जम्मू कश्मीरको गान्दरबल जिल्लाको गगनगीर क्षेत्रमा केन्द्र सरकारको योजना अन्तर्गत सुरुङ निर्माणको कार्य चलिरहेको छ। मजदूरहरूको बस्ने व्यवस्था पनि त्यहीं शिविरमा गरिएको छ। मजदूरहरूको शिविरलाई निशाना बनाएर आतङ्कीहरूले हमला गरेको छ, जसमा 6 जनाको मृत्यु भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी