खरसाङ विन्टर रन 2024 लाई लिएर सभा सम्पन्न 
Kurseong-winter-run


खरसाङ, 12 नाेभेम्बर (हि.स.)। खरसाङमा हुन गइरहेको खरसाङ विन्टर रन 2024 लाई लिएर आज खरसाङ महकुमा शासकको पहलमा खरसाङको डाउहिल स्कूलको कार्यालयमा विशेष सभा सम्पन्न भयाे। उक्त सभामा खरसाङको महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपक, वन विभागको रेञ्जर अफिसर सम्बर्दा साधु, खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पा, खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङ, समाजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राई, खरसाङ एथलेटिक क्लबकी सचिव प्रीति राई लगायत खरसाङ डाउहिल, चिमनी देवराली क्षेत्रका होम स्टे सञ्चालकहरू उपस्थित रहेका थिए।

उक्त सभाको मुख्य उद्देश्य आगामी 8 दिसम्बरमा हुन लागेको खरसाङ विन्टर रन 2024 मा टाड़ा टाड़ाबाट आएका सहभागी धावकहरूलाई विभिन्न होम स्टेहरूमा कम मूल्यमा बस्ने व्यवस्था गरिने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। खरसाङमा पहिलोपल्ट दिगो पर्यटनको उद्देश्यको साथमा 10 किलोमिटरको खरसाङ विन्टर रन 2024 आयोजना भइरहेको छ।

आजको सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिमा एक खरसाङ एथलेटिक क्लबकी सचिव प्रीति राईले खरसाङ विन्टर रन 2024 लाई लिएर आज खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकको पहलमा सभा बसेको बताइन्। उक्त सभामा टाड़ा टाड़ाबाट आएका धावकहरूलाई बस्ने व्यवस्था गर्न साथै डाउहिल, चिमनी देवराली क्षेत्रका होम स्टेहरूमा केही छुटको साथमा बस्ने व्यवस्था विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराइन्। होम स्टे सञ्चालकहरूले यस कुरालाई मानिलिएको भन्दै उनले सबैप्रति आयोजक समितिको पक्षबाट आभार प्रकट गरिन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande