गान्तोक, 24 नोभेम्बर (हि.स.)। गान्तोकको पाल्जोर स्टेडियममा आज अखिल भारतीय ४०औँ राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता २०२४ को ग्रान्ड फिनाले भन्दा अघि मुख्यमन्त्री एकादश, सिक्किम र जीटीए एकादश, दार्जिलिङमाझ एक मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भयो। मुख्यमन्त्रीले टिम क्याप्टेनको रूपमा मुख्यमन्त्री एकादश, सिक्किमको नेतृत्व गरेका थिए।
रोमाञ्चक भीडन्तका साथ सम्पन्न भएको यस मैत्रीपूर्ण प्रदर्शनी खेलमा 3 को विरूद्ध 4 गोल गरी जीटीए एकादश, दार्जिलिङ विजयी बन्यो। खेलमा पहिलो र तेस्रो गोल जीटीएका खेलाडी लाक्पा शेर्पाले गरे भने दोस्रो गोल उमेश थापाले गरे। यसैगरी चौथो गोल अजय थापाले गरे।
सोही प्रकारले मुख्यमन्त्री एकादश, सिक्किमको पक्षमा पहिलो गोल सुमन देवानले गरे भने दोस्रो र तेस्रो गोल कमल वागदासले गरेका थिए। मन्त्री सोनाम लामाले आफ्नो तर्फबाट पहिलो गोल गर्ने सिक्किमका खेलाडीलाई 15 हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेका थिए। मुख्य अतिथि मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णा कुमारी राईको बाहुलीद्वारा पहिलो गोल गर्ने खेलाडी सुमन देवानलाई 15 हजार रुपियाँ नगद राशि प्रदान गरियो।
यस मैत्रीपूर्ण खेलमा मुख्यमन्त्री एकादशको टोलीमा मुख्यमन्त्री प्रेमसिंह तामाङ (क्याप्टेन), मन्त्री सोनाम लामा, मन्त्री साम्डुप लेप्चा, मन्त्री राजु बस्नेत, मन्त्री भीमहाङ लिम्बू, मन्त्री पुरण गुरूङ, मन्त्री पिन्छो नामग्याल लेप्चा, विधायकहरू आदित्य गोले, सञ्जित खरेल, लोकनाथ नेपाल, मदन सिन्चुरी, दिले नामग्याल बर्फुङपा, ईरूङ तेन्जिङ लेप्चा, तेन्जिङ नोर्बु लाम्था, साम्डुप भोटिया, एनबी प्रधान, सुदेश कुमार लिम्बू आदि थिए।
यस प्रदर्शनी फुटबल खेलको अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णा कुमारी राई मुख्य अतिथि थिइन्। यसैगरी, मन्त्री एनबी दाहाल, विधायकद्वय बीएस पन्त र पामिन लेप्चा, दार्जिलिङका विधायक निरज जिम्बा र उनको टोली लगायत भारी संख्यामा फुटबलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल