घैयाबारीमा शिक्षित युवाहरुलाई रोजगारको अवसर प्रदान गर्न जानकारीमूलक कार्यक्रम सम्पन्न 
घैयाबारीमा शिक्षित युवाहरुलाई रोजगारको अवसर प्रदान गर्न जानकारीमूलक कार्यक्रम सम्पन्न


तीनधारे, 24 नोभेम्बर (हि.स.)। भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओको आयोजनामा घैयाबारी क्षेत्रका शिक्षित युवाहरुलाई लिएर जानकारीमूलक कार्यक्रम आयोजना गरिएको छ। घैयाबारी भूतपूर्व सैनिक वेलफेयर सोसाइटीले धुपगढीमा अवस्थित प्रथम एडुकेशन फाउण्डेशन अन्तर्गत प्रथम मल्टी स्किलिङ ट्रेनिङ सेन्टरसित मिलेर उक्त कार्यक्रम आयोजना गरेको हो।‌

सोसाइटीले घैयाबारी क्षेत्रका शिक्षित युवाहरुलाई रोजगार उपलब्ध गराउने उद्देश्यका साथमा आयोजना गरेको उक्त कार्यक्रममा प्रथम मल्टी स्किलिङ ट्रेनिङ सेन्टर धुपगढीको तर्फबाट सुशान्त मण्डल, तुसान मण्डल र बाप्पी दास उपस्थित रहेका थिए। उनीहरूले शिक्षित युवाहरुले कसरी आफ्नो क्षमता अनुसार काम पाउन सक्छन् भन्ने बताउॅंदै यस क्षेत्रका सबै युवाहरूलाई नि:शुल्क ट्रेनिङको व्यवस्था गरिदिने जानकारी गराएका छन्।‌ युवाहरुले आफ्नो क्षमता र योग्यता अनुसार ट्रेनिङ गराएर रोजगार दिने उनीहरूले बताएका छन्‌।

उल्लेखनीय छ, प्रथम मल्टी स्किलिङ ट्रेनिङ सेन्टरले नेशनल स्किल डेभलपमेन्ट को-ओपरेशनसित मिलेर कार्य गरिरहेको जानकारी प्राप्त भएको छ। यस अवसरमा घैयाबारी भूतपूर्व सैनिक वेलफेयर सोसाइटी कारगिल एनजीओका पदाधिकारीहरू पनि उपस्थित रहेका थिए।‌ उनीहरूले शिक्षित युवाहरुलाई विभिन्न प्रकारका स्किल ट्रेनिङ गर्ने सुझाउ दिॅंदै ट्रेनिङपछि रोजगारको अवसर प्रदान गरिने बताएका छन्।

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कारगिल एनजीओको सचिव गणेश तामाङले भने, हामीले प्रथम मल्टी स्किलिङ ट्रेनिङ सेन्टर धुपगढीसित मिलेर घैयाबारी क्षेत्रका शिक्षित युवाहरुलाई रोजगारको अवसर प्रदान गर्न यो जानकारीमूलक कार्यक्रम आयोजना गरेका हौं। उनले हामी घैयाबारी भूतपूर्व सैनिक वेलफेयर सोसाइटीको टिम धुपगढी पुगेर निरीक्षण गरेपछि यो कार्यक्रम आयोजना गरेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande