विभिन्न पार्टी त्यागेर 12 परिवार एसकेएम पार्टीमा सामेल भएको दाबी
विभिन्न पार्टी त्यागेर 12 परिवार एसकेएम पार्टीमा सामेल भएको दाबी


गान्तोक, 16 अप्रेल (हि.स.)। राज्यका विभिन्न स्थानबाट विभिन्न विपक्षी पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल हुने क्रम युद्धस्तरमा चलिरहेको छ। यस क्रममा मानेबुङ देन्ताम समष्टिका लोअर माङ्मु, सिङ्सोर र फलेक-गीताङबाट कुल 12 परिवार एसकेएम पार्टीमा सामेल भएको दाबी गरिएको छ।

एसकेएम प्रचार प्रसार महासचिव कृष्ण लेप्चाले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, 'एसकेएम पार्टीमा सामेल हुनेहरूमा अमित प्रधान, सूर्य बराइली, इन्द्रभद्र सुब्बा, सुकराज सुब्बा, नरबिन्द्र राई, अमित सुब्बा, गणेश गुरुङ, धन बराइली, राम बराइली, टेण्डुप लेप्चा, अनुप राई र इशाक राई रहेका छन्।'

उनले विज्ञप्तिमा भनेका छन्, 'सिक्किमे जनताले हिमाली राज्यमा सुनाखरी र लाली गुराँस मात्र फुलाउन चाहेका छन्। हिलोमा फुल्ने कमलको फूल नफुलाउने निर्णय लिइसकेका छन्। अन्य विपक्षी पार्टीहरू बर्खायाममा निस्किने झरिच्याउ मात्र हुन्। याम सकिएपछि समाप्त भएर जाने यस्ता विपक्षी पार्टीहरूबाट सिक्किमको सुरक्षा हुन नसक्ने कुरा सिक्किमे जनताले राम्ररी बुझिसकेका छन्। छिचिमिरा जस्ता नेताहरूले सिक्किमको भलो तथा कल्याण गर्न सक्दैनन्। यस्ता छिचिमिरा जस्ता नेताहरू टेबल ल्याम्पको तापमा आएर आफै मर्ने अवस्थामा पुगेका छन्।'

प्रचार प्रसार महासचिव लेप्चाले भनेका छन्, 'यदि सिक्किममा भाजपाको सरकार आयो भने भाजपाले एक देश, एक विधान, एक संविधान, एक धर्म, एक भाषाको नीति लागू गरेर सिक्किमबाट 371एफ खारेज गर्ने योजना बनाएको नवआगन्तुकहरूले बताएका छन्। यदि यस्तो भएको खण्डमा सिक्किमका जग्गा-जमिन सबै भारतीयले खरिद गर्नु पाउनेछन्। त्यसपछि सिक्किमेहरू आफ्नै माटोमा शरणार्थी हुनेछन्। त्यही भएर आफू सिक्किम आमाको सुरक्षाको निम्ति एसकेएम पार्टीमा सामेल भएको उनीहरूले बताए।'

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande