जनतालाई गरेका वाचाहरू पूरा गर्न एसकेएम पार्टी प्रतिबद्ध: एनबी प्रधान
जनतालाई गरेका वाचाहरू पूरा गर्न एसकेएम पार्टी प्रतिबद्ध: एनबी प्रधान


गान्तोक, 17 अप्रेल (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको मल्ली निर्वाचन क्षेत्रका उम्मेदवार एनबी प्रधानले सिक्किमका जनतालाई गरेका वाचाहरू पूरा गर्ने पार्टीको प्रतिबद्धतालाई दोहोर्याएका छन्। एसकेएमले आज मल्ली बजारमा पार्टी उम्मेदवार एनबी प्रधानको समर्थनमा भव्य ऱ्याली आयोजन गऱ्यो।

ऱ्यालीपछि पत्रकारहरूसित कुराकानी गर्दै प्रधानले मुख्यमन्त्री प्रेमसिंह तामाङ र एसकेएम पार्टीको प्रशंसा गर्दै एसकेएमले घोषणाहरू मात्र नगरेर त्यसलाई कार्यरूपमा उतार्ने काम गरेको छ भने। मुख्यमन्त्री तामाङको कुशल नेतृत्वमा एसकेएम सरकारले गरेका विकास कार्यहरूकै कारण आज क्षेत्रका जनता स्वत: पार्टीको समर्थनमा अघि आएको उनले बताए।

प्रश्नहरूको जवाफमा प्रधानले क्षेत्रमा गरिनु पर्ने विकास कार्यहरूलाई लिएर भिजन डकुमेन्ट तयार गरिएको र सरकार गठन गरेपछि त्यसमाथि काम शुरू गरिने बताए। उनले यसमा ग्रामीण सम्पर्क, पूर्वाधार विकास, सडक, खानेपानी, सामुदायिक हल, खेल मैदान र बिजुली जस्ता आधारभूत सुविधाहरू प्रमुख रहेको अवगत गराए। उनले वाचाहरू एसकेएम पार्टीले अवश्य पूरा गर्नेछ भनी क्षेत्रका जनतालाई विश्वास पनि दिलाए।

पार्टीका वरिष्ठ कार्यकर्ताहरूको समर्थनलाई स्वीकार गर्दै प्रधानले आफ्नो उम्मेदवारीको श्रेय एसकेएमको सामूहिक निर्णयलाई दिए। उनले आगामी 19 अप्रेलका दिन मतदाताहरूलाई आफ्नो बहुमूल्य भोट टेबल ल्याम्पको चिन्हमा लगाउन आग्रह गरे।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande