खरसाङमा बुद्ध जयन्ती भक्तिभावका साथ पालन गरियो
खरसाङमा बुद्ध जयन्ती भक्तिभावका साथ पालन गरियो


खरसाङ, 23 मई (हि.स.)। खरसाङको मन्टिभियट रोडमा अवस्थित टाँसी साम्तेलिङ गुम्बा अनि तामाङ बुद्धिष्ट एसोसिएशनको आयोजनामा भगवान बुद्धको 2568औं जन्म जयन्ती आज भव्य रूपमा पालन गरियो। खरसाङको मन्टिभियट रोडस्थित सन् 1925 सालमा स्थापित तामाङ बुद्धिष्ट एसोसिएशनको टाँसी सामतेलिन गुम्बामा गत 17 मईदेखि सात दिवसीय पूजा भइरहेको थियो। आज अन्तिम दिन साथै भागवान बुद्धको जम्म जयन्तीमा भव्य कार्यक्रम आयोजनका साथै ऱ्याली निकालियो।

यसपालीको बुद्ध जयन्ती समारोह शताब्दी (सय वर्ष) मा प्रवेश गरेकाले सात दिवसीय पूजा सँगसँगै रक्तदान शिविर, सेमिनार, संगोष्ठी र अन्य कार्यक्रमहरू गरिएको बताइएको छ। बुद्ध जयन्तीको अवसरमा तामाङ बुद्धिष्ट एसोसिएशनको यस गुम्बा परिसरबाट बिहान रैली निकालिएको थियो। उक्त ऱ्याली मन्टिभियटबाट टुरिस्ट लज हुँदै वर्तमान रोड भएर खरसाङ बजार परिक्रमा गरेपछि मोटर स्ट्याण्ड हुँदै नयाँतिर लगिएको थियो।

यसको साथै नयाँ बजारबाट आकाशवाणी खरसाङ परिसबाट पंखाबारी रोड हुँदै पुन: मोटर स्ट्याण्ड भएर पार्क लोकेशनबाट गुम्बा परिसरमा नै पुगेर समाप्त भयो। उक्त ऱ्यालीमा बुद्धिष्ट धर्मको धर्म पुस्तक, धर्म ध्वजहरू र बुद्धका मूर्ति लिएर परिक्रमा गरिएको थियो भने ठाउँ ठाउँमा मानिसहरूले बौद्ध धर्म ग्रन्थलाई ढोक गर्दै आशिर्वाद लिए। भक्तिभावको साथमा मानिसहरू ऱ्यालीमा सहभागी बनेका थिए।

बुद्ध जयन्ती र सात दिवसीय पूजा समारोह विषयमा तामाङ बुद्धिष्ट एसोसिएशनका अध्यक्ष युएस तामाङले पत्रकारहरूसित कुराकानी गर्दै बुद्ध जयन्तीको अवसरमा ऱ्यालीमा भाग लिनेहरू साथै यसलाई विभिन्न प्रकारले सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे। उनले आजको ऱ्यालीमा सहयोग गर्ने पुलिस प्रशासनप्रति पनि आभार प्रकट गरेका छन्।

अध्यक्ष तामाङले बताए अनुसार, खरसाङको टाँसी सामतेलिन गुम्बामा भएको सात दिवसीय पूजा अन्तर्गत 17 मईको दिन भुम पाठ, 18 मईमा भुम पाठसितै खरसाङ महकुमा अस्पतालसित मिलेर रक्तदान शिविरको आयोजना गरियो भने 19 र 20 मईको दिन पनि भुम पाठ गरियो। यसै क्रममा 21 मईको दिन भगवान बुद्धको 12 लिलामाथि संगोष्ठी आयोजना गरियो जसमा डाली गुम्बाको बौद्ध धर्म गुरु घेला लामा पेम्बा छिरिङ शेर्पा विशेष रूपमा उपस्थित रहेका थिए।

उनले सात दिवसीय पूजाको अन्तिम दिन आज बुद्ध जयन्तीको अवसरमा ऱ्याली साथै पूजा र वाङ वितरण गरिने कार्यक्रम रहेको जानकारी गराए। त्यसरी नै आजको पूजामा वाङ वितरण क्याप्जे होईसर टिल्कु रिम्पोर्छेको बाहुलीबाट गरिने पनि उनले बताएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande