कारगिलमा युद्धका साथै सत्यको पनि जित भयो: प्रधानमन्त्री मोदी
pm modi


कारगिल, 26 जुलाई (हि.स.)। 25औं कारगिल विजय दिवसमा आज प्रधानमन्त्री नरेन्द्र मोदीले द्रासमा कारगिल युद्ध स्मारकमा कारगिल युद्धका नायकहरूलाई श्रद्धाञ्जलि अर्पित गरे।

यस अवसरमा प्रधानमन्त्रीले भने, कारगिल विजय दिवस साक्षी हो कि राष्ट्रको निम्ति दिइएको बलिदान अमर रहन्छ। कारगिलमा हामीले केवल युद्ध जितेका थिएनौं, तर सत्यको पनि जित भएको थियो। त्यस समय भारतले शान्तिको निम्ति कार्य गरिरहेको थियो। पाकिस्तानले विश्वासघात गऱ्यो। 26 जुलाई 1999 मा भारतले कारगिल युद्धमा विजय हासिल गरेको थियो। आज लद्दाखको यो महान भूमि कारगिल विजय दिवसको 25औं वर्षगाठको साक्षी बनिरहेको छ। मलाई याद छ, कुन प्रकारले हाम्रा सेनाहरूले यति अग्लो ठाउँमा यति कठिन युद्ध अपरेशनलाई अन्जाम दिए। म देशलाई विजय दिलाउने यस्ता सबै शूरवीरहरूलाई आदरपूर्वक प्रणाम गर्दछु। म ती शहीदहरूलाई नमन गर्छु, जसले कारगिलमा मातृभूमिको रक्षाको निम्ति आफ्नो सर्वोच्च बलिदान दिए। यस युद्धमा पाकिस्तानले पराजय झेल्नुपऱ्यो तर पाकिस्तानले आफ्नो इतिहासबाट केही सिकेन।

यसपछि प्रधानमन्त्रीले भर्चुअली शिंकुन ला सुरङ परियोजनाको पहिलो विस्फोट गरे। यो सुरङले लद्दाखलाई हर मौसममा सम्पर्क प्रदान गर्नेछ। यस सुरङ परियोजनामा 4.1 किलोमीटर लामो ट्विन-ट्यूब टनल पनि सामेल छ, जसको निर्माण निमू-पदुम-दारचा रोडमा लगभग 15,800 फुटको उँचाईमा गरिनेछ। यसबाट लेहलाई हरेक मौसममा कनेक्टिविटी प्रदान गर्नसकिनेछ। यो विश्वको सबैभन्दा अग्लो सुरङ हुनेछ। शिंकुन ला सुरङले न केवल हाम्रो सशस्त्र बलहरू र उपकरणहरूको तीव्र र कुशल आवाजाही सुनिश्चित गर्नेछ तर लद्दाखमा आर्थिक र सामाजिक विकासलाई पनि प्रोत्साहन दिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande