खरसाङ, 22 जनवरी (हि.स.)। खरसाङको चानमारी खेल मैदानमा भइरहेको शहीद गोल्ड कप टुर्नामेन्टमा ब्राइट स्पोर्टिङ्ग क्लबले युकेएफसीलाई 2-1 को अन्तरले जितेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको युवा मामिला अनि खेलकूद विभागको सहयोगमा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आयोजित शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज युकेएफसी खरसाङ र ब्राइट स्पोर्टिङ्ग क्लबमाझ रोमाञ्चक खेल भयो।
यस खेलको पहिलो हाफ शुरु भएको चौथो मिनटमा ब्राइट स्पोर्टिङ्ग क्लबको तर्फबाट जर्सी नम्बर 22 जेवल राईले गोल गरेर बढत बनाएका थिए। पहिलो हाफको खेल 1-0 मा समाप्त भयो। दोस्रो हाफको 15औं मिनटमा युकेएफसीको जर्सी नम्बर 8 सदिस राईले गोल गरेर खेल बराबरीमा ल्याए। खेल बराबरीमा चलिरहेको समय दोस्रो हाफको 41औं मिनटमा ब्राइट स्पोर्टिङ्ग क्लबको तर्फबाट जर्सी नम्बर 15 खोकन रोयले गोल गरेर आफ्नो दललाई 2-1 बढत दिलाए। यही गोल नै निर्णायक सावित भयो।
आजको खेलमा ब्राइट स्पोर्टिङ्ग क्लबको गोल किपर जोय दत्त म्यान अफ् द म्याच चयन भए। उनलाई मुख्य अतिथिको रूपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको युवा मामिला एवं खेलकूद विभागका एमओडी सभासद नवराज छेत्रीको बाहुलीबाट पारितोषिक प्रदान गरियो। भोलि पहिलो क्वार्टर फाइनल खेल हिल फुटबल एकाडेमी खरसाङ र कालेबुङ पुलिसमाझ सम्पन्न हुनेछ।
हिन्दुस्थान समाचार / हनोक