
आइची-नागोया, ०३ अक्टोबर (हि.स.)। भारतकी प्रणवी उर्सले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै एसियाली खेलकुदमा महिला गल्फको पहिलो स्वर्ण पदक दिलाएर इतिहास रचेकी छन्। मैसुरमा जन्मिएकी प्रणवी अन्तिम चरणअघि १५ अन्डर १९५ स्कोरसहित शीर्ष स्थानमा थिइन् र उनीसँग सिङ्गापुरकी श्यानन शुआन यिन ट्यानमाथि तीन सटको अग्रता थियो। चीनकी रुओनिङ यिन तेस्रो स्थानमा थिइन्।
यद्यपि अन्तिम चरणको शुरुआत प्रणवीका लागि कठिन रह्यो। तेस्रो होलमा ट्रिपल बोगीका कारण उनको अग्रतामाथि खतरा उत्पन्न भयो। यसै क्रममा रुओनिङ यिनले बर्डी हासिल गरिन् भने ट्यानले शुरुआती तीन होलमा दुई बोगी गरिन्। यसले चिनियाँ खेलाडीलाई पुनः स्वर्ण पदकको दौडमा बलियो स्थितिमा पुर्यायो।
तर प्रणवीले शानदार पुनरागमन गर्दै छैटौँ १०औँ र १३औँ होलमा बर्डी हासिल गरिन् र पुनः अग्रता आफ्नो नाममा गरिन्। त्यसपछि उनले दबाउका बीच आफ्नो संयम कायम राख्दै भारतका लागि ऐतिहासिक स्वर्ण सुनिश्चित गरिन्।
छ वर्षको उमेरमा गल्फ शुरु
१५ अप्रेल २००३ मा जन्मिएकी प्रणवीले छ वर्षको उमेरमा गल्फ खेल्न शुरु गरेकी थिइन्। मैसुरको जयचामराजा वाडियार गल्फ क्लबमा आफ्ना बुबा र दाजुलाई खेलिरहेको देखेपछि उनको यस खेलप्रति रुचि जागेको थियो।
प्रणवीले जुनियर तथा अमेच्योर स्तरमा धेरै उपलब्धि हासिल गरिन्। उनले २०१८ मा थाइल्यान्डमा सिङ्घा विश्व जुनियर च्याम्पियनसिप र अखिल भारतीय जुनियर गर्ल्स च्याम्पियनसिपलगायत धेरै प्रतियोगिता जितेकी छन्। २०२० मा व्यावसायिक गल्फमा प्रवेश गरेपछि उनले घरेलु महिला व्यावसायिक गल्फ प्रतियोगितामा आफ्नो पहिचान बनाइन्।
अन्तरराष्ट्रिय स्तरमा पनि बनाइन् पहिचान
प्रणवीले २०२२ को एसियाली खेलकुदमा भारतको प्रतिनिधित्व गरेकी थिइन्, जुन २०२३ मा हाङझाउमा आयोजना भएको थियो। उनले महिला व्यक्तिगत स्पर्धामा १३औँ र टोली स्पर्धामा चौथो स्थान हासिल गरेकी थिइन्।
त्यसपछि उनले लेडीज युरोपियन टुर तथा अन्य अन्तरराष्ट्रिय व्यावसायिक प्रतियोगितामा नियमित रूपमा सहभागिता जनाउँदै आएकी छन्। २०२४ मा एन्डालुसिया कोस्टा डेल सोल ओपन डी एस्पानामा तेस्रो स्थान हासिल गर्नु त्यसताक लेडीज युरोपियन टुरमा उनको उत्कृष्ट प्रदर्शन थियो। सोही वर्ष उनले डर्मी ओपन हेलसिङबर्गमा पनि संयुक्त रूपमा तेस्रो स्थान हासिल गरिन्।
प्रणवीका प्रमुख उपलब्धिमध्ये २०२५ को आईजीपीएल इन्भिटेसनल मुम्बईको उपाधि पनि समावेश छ। उनी पुरुष खेलाडीसँगै खेलाइएको व्यावसायिक खुला प्रतियोगिता जित्ने पहिलो भारतीय महिला बनेकी थिइन्।
यसका साथै उनले २०२५ को हिरो महिला इन्डियन ओपनमा चौथो स्थान, २०२५ को लाकोस्त लेडीज ओपन डी फ्रान्समा संयुक्त रूपमा पाँचौँ स्थान तथा २०२६ को डच लेडीज ओपनमा संयुक्त रूपमा पाँचौँ स्थान हासिल गरिन्। सन् २०२४ मा आफ्नो पहिलो पूर्ण लेडीज युरोपियन टुर सत्रमा उनी सत्रको वरीयतामा १७औँ स्थानमा रहेकी थिइन्।
प्रणवीको यो प्रदर्शन भारतीय महिला गल्फका लागि ऐतिहासिक उपलब्धि बनेको छ। यो एसियाली खेलकुदमा महिला गल्फमा भारतले जितेको पहिलो स्वर्ण पदकका रूपमा दर्ता भएको छ।
हिन्दुस्थान समाचार / बिशाल